काठमाडौँ, २ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आउँदो दुई वर्षभित्र भूमिसँग सम्बन्धी सबै समस्या समाधान हुने बताएकी छन् ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैयामुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री श्रेष्ठले सरकार मुक्तकमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने काममा दत्तचित्त भएर लागेको दाबी गरिन् । उनले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको अवधिमा झन्डै ४९ हजार परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताइन् ।
मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन–स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताइन् ।
उनले सरकार विकास तथा सीमान्तकृत, पिछडिएको वर्गको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरूप अघि बढिरहेको पनि स्पष्ट पारेकी छन् ।







