काठमाडौँ, ११ भदौ । भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी । देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ ।
पुरोहितले मन्त्रोच्चारणपूर्वक काटेको कुश यजमानका घरमा लग्ने परम्परा छ । यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ । यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ ।
यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ । शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ । सबै कहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो ।
लौकिक चलनअनुसार आज छोराछोरीले खानेकुरा र लुगाफाटोसहित आफ्ना बुबाको मुख हेर्ने गर्छन् ।






