इजरायल, ३ मंसिर । इजरायली आक्रमणमा शनिबार बिहान मध्य र पश्चिमी जिल्लाहरूमा चार सिरियाली सरकारी सैनिकको मृत्यु हुनाका साथै एक जना घाइते भएको सिरियाली सरकारी मिडियाले जनाएको छ ।
‘विहान ०६:३० बजे इजरायली शत्रुले हवाई आक्रमण गरेको र त्यसमा परी चार सैनिकको मृत्यु भएको र एक सिपाही घाइते भएको’, सैन्य स्रोतले आधिकारिक साना समाचार एजेन्सीलाई बताएको छ ।
बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले होम्स र हामा प्रान्तमा इरानी समर्थक समूहहरूलाई निशाना बनाएर हतियार र गोलाबारुद स्थलमा आक्रमण गरेको बताएको छ ।
त्यसैगरी इजरायलले लाटाकिया प्रान्तमा रहेको सिरियाली एयर डिफेन्स ब्याट्रीलाई पनि निशाना बनाएको छ । इजरायलले त्यस्ता रिपोर्टहरूमा विरलै टिप्पणी गर्ने गर्छ तर सन् २०११ मा गृहयुद्ध शुरु भएदेखि सिरियाली क्षेत्रमा सयौं हवाई हमलाहरू गरेको छ । सरकारी स्थानहरू साथै इरान समर्थित सेना र हिजबुल्लाह लडाकुहरूलाई त्यसको निशान बनेका छन् ।







