Logo

तेह्रथुमको आङ्दिममा फेरि मतदान हुने



तेह्रथुम, ५ मंसिर । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएको छ ।

छथर गाउँपालिका-१, आङ्दिम वडा कार्यालय `ख´ मतदान केन्द्रमा हिजो भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मङ्गलवार फेरि मतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

यो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको जनाइएको छ ।

यो केन्द्रमा ८ सय ४४ मतदाता मध्ये हिजो ४ सय ५६ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्