काठमाडौँ, २२ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
सरकार कुन ढङ्गले अगाडि बढ्छ? त्यसलाई हेरेरमात्रै उसलाई विश्वासको मत दिने बारेमा निर्णय लिन सकिने उनको भनाइ थियो ।
शुक्रवार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले व्यक्तिगतरूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको धारणासमेत राखेका थिए ।
उनले भने, ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरूको विषयमा विश्लेषण गर्नेछौँ । व्यक्तिगतरूपमा प्रचण्डजीप्रति मेरो ‘पोजेटिभ’ नै धारणा छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ? त्यो हेरिकन हामी टुङ्गो गर्छौँ । सरकारलाई विश्वासको मत दिन हामीले धेरै विश्लेषण गर्नुपर्छ ।’







