Logo

सेनाको सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनुहुन्न: खड्का



काठमाडौँ, ११ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताएका छन् ।

सरकारद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले संविधान र कानुनले सुम्पिएको तथा सरकारद्वारा समयसमयमा तोकिएका जिम्मेवारी एवं अन्तर्राष्ट्रिय शान्ति स्थापना र मुलुकको भौगोलिक अवस्था तथा विकटताका आधारमा सङ्ख्या तय हुने स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री खड्काले भने, “सेनाको सङ्ख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकता तथा सेनाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरिरहेको महत्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी विश्लेषण गर्न सान्दर्भिक हुन्छ ।”

सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारले निर्धारण गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनले सेनालाई मुलुकको आवश्यकताअनुसार सक्षम, सबल र सुदृढ गरिँदै लगिने बताए । सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव सजग, सचेत र तत्पर रहेको जिकिर गर्दै उपप्रधानमन्त्री खड्काले विश्वको बद्लिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आआफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरेको उल्लेख गरेका हुन् ।

बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारीलगायतका सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ निम्त्याइरहेको बताउँदै मन्त्री खड्काले जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्राकृतिक विपत्ति र महामारीको प्रकोपका कारण पनि सुरक्षा चुनौती थपिँदै गएको विचार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्