झापा, १३ भदौ । झापा बुद्धशान्तिको जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका संचालक तथा व्यवस्थापकको मिलेमतोमा ३ करोड भन्दा बढी रकम हिनामिना भएको छ ।
शेयर सदस्य तथा बचतकर्ताको रमक फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी संस्था बन्द भएको छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।
संस्थाको आन्तरिक लेखा समितिले २०८० साल भदौ ७ गते दिएको प्रतिवेदनमा ऋण लगानी ४७ लाख ३१ हजार २ सय ५५ रुपैयाँ र बैंक बचत ६ लाख ९० हजार ३ सय ६० रुपैयाँ गरेर ५४ लखा २१ हजार ६ सय १४ रुपैयाँ पुँजी देखाएको छ । कूल आयमा लगानी र बैंक मौजात रकम घटाउँदा ३ करोड ४ लाख ४४ हजार ६ सय २९ रुपैयाँ कहाँ छ भन्ने देखिँदैन । लेखा समितिको प्रतिवेदनले २ करोड ८२ लाख ४८ हजार ९२ रुपैयाँ हिसाब बचत नदेखिएको उल्लेख छ । बैंकमा बचत गर्नु पर्ने रकम संचालक तथा व्यवस्थापकको मिलेमतोमा हिनामिना भएको छ ।
सहकारीले शेयर तथा बचत फिर्ता गर्न नसके पछि स्थानीयले संचालक समितिविरुद्ध गाउँपालिका र सहकारी रजिष्ट्रार कार्यालय इनरुवामा उजुरी दिएका छन् । शेयर सदस्य तथा बचतकर्ताले २०८० साल वैशाख ३ गते रकम फिर्ताको माग गर्दै बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।
यसैगरी यही भादौ ८ गते पीडितले सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा उजुरी दिएका छन् । सहकारी रजिष्ट्रार कार्यालय छानवीन गरिरहेको निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जानकारी दिए । उनले सहकारी संस्थाको रकम अपचलन भएको बताए । उनले भने, प्रारम्भिक अध्ययनले ३ करोड भन्दा बढी मिलेमतोमा अपचलन भएको छ ।
घनश्याम भट्टराई २०७० सालदेखि अध्यक्ष छन् । उनी अध्यक्ष भएदेखि संस्थामा आर्थिक अपचलन सरु भएको बताइएको छ । संचालक समितिले आर्थिक वर्ष २०७६/२०७७ देखि लेखा प्रतिवेदन बुझाएको छैन । समितिले निर्णय नगरी लगानी गर्ने, ऋण समितिका सदस्यलाई जानकारी नदिइ बिना भरपाई ऋण लगानी गर्ने, संस्थाको चेकबाट बाहिरका व्यक्तिलाई भुक्तानी दिने जस्ता कार्य भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।