Logo

तीन नेपाली चलचित्र प्रदर्शनमा



काठमाडौँ, २६ असोज । आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ ।

फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षको भनाइ छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक नारायण रायमाझीले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘परदेशी-२’ हो ।

अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उनले जानकारी दिए ।

राजेश वंशलले निर्माण गरेको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘कौसीद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिए ।

चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै आजैदेखि प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गरेका हुन् ।

एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्