Logo

थ्रिस्टार क्लब आहारारा पोखरा गोल्डकपको उपाधि नजिक



कास्की, १७ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्‍याएको हो ।

पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १-० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टार आहाराराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । जारी प्रतियोगितामा थ्रिस्टारले प्रि-क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि-क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो ।

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्