काठमाडौँ, २८ माघ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आज विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ ।
पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकप्रति फोनिजले असहमति जनाएको हो ।
फोनिजले महासङ्घका संस्थापक एवम् पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको हो ।
“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गर्नुभयो । तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ । हामीले यस विषयमा रिभ्यू गर्न ध्यानाकर्षण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भने, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।” फोनिजको एक समूहले विमोचन अघि नै पुस्तक च्यातेपछि कार्यक्रम स्थलमा तनाव भएको थियो ।







