काठमाडौँ, २२ फागुन । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ ।
सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने छ । त्योभन्दा अघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने श्रेष्ठले बताए ।
प्रतिनिधि सभामा नेकपा (एमाले) को ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१ र जसपाको १२ सिट रहेको छ । सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो ।
अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए ।
उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुने श्रेष्ठले जानकारी दिए ।
नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन् । मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।





