काठमाडौं, २६ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाले आफू काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभन्दा तीन वर्षअघि नै सर्वोच्च अदालतले दिएको नदीतटको मापदण्ड बनाउने आदेशलाई आफूले कार्यान्वय गर्ने प्रयास सुरु गरेपछि बिरोध गरिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको हो ।
५ वर्षअघि आएको थियो नदीतटको मापदण्ड बढाउने आदेश, बालेनले कार्यान्वयन थालेपछि बल्ल विरोध, ‘उहिलै मरिन् सासु, अहिले आए आँशु, यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण हो,’ मेयर शाहले सामाजिक सञ्जलमा लेख्नुभएको छ।
‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईँले थाहा पाउनुभन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको थियो,’ शाहले लेख्नुभएको छ, ‘त्यतिबेला अहिले प्रधानमन्त्री रहेका खड्गप्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो।
उहाँले नियुक्त गर्नुभएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौँको मेयर विद्यासुन्दर शाक्य। यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो। अदालतको प्रक्रिया नै यहि हो। पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ। यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ।’
प्रधानमन्त्री ओली, बागमतीका तत्कालीन मुख्यमन्त्री पौडेल, काठमाडौँ महानगरका तत्कालीन मेयर शाक्यसहित कोही पनि सो फैसला पुनरावेदनका लागि त्यतिबेला अदालत नगएको प्रसंग जोड्दै मेयर शाहले लेख्नुभएको छ, ‘यसको अर्थ हो, त्यो फैसलामा यीमध्ये कसैको असहमति रहेन।’
पाँच वर्षअघि नै अदालतले गरेको उक्त फैसलाविरुद्ध किन भ्याकेटमा नगएको भन्दै बालेनले अहिले यो विषय उछाल्नुलाई अवसरवादी चरित्रको संज्ञा दिनुुभएको छ ।
‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन। या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ,’ बालेनले लेख्नुभएको छ, ‘उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ।’
आफूहरुले सधैँ नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्नुपर्नेमा पनि जोड दिइएका छ।
‘हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला। अन्यथा, पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर,’ बालेनले लेख्नुभएको छ।