Logo

घटस्थापना कसरी गर्ने ?



काठमाडौँ, १७ असोज । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९: १६ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

घटस्थापनाको दिन सबैभन्दा पहिला वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गर्नुपर्ने हुन्छ । अनि सङ्कल्प वाच्यमा त्रित्रा र बैवृद्धीको पूजा गरेर दुर्गा भवानीको शुभ फल प्राप्तका लागि सङ्कल्प गर्ने र सुख शान्तिको लागि गायत्रीको जप पनि गर्नुपर्छ ।

जमरा राख्नुअघि सके हवन गर्ने, नसके दशमीको दिन हवन गर्न सकिन्छ । हवन गरिसकेपछि मात्रै घटस्थापना गर्नुपर्छ ।

नजिकको नदी, जङ्गल वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको जमरा घर वा दशैँघरमा जमरा राख्नुपर्छ । त्यसपछि मात्रै स्थापना गरिएको कलश राख्नुपर्छ ।

देवीलाई घडामाथि थाली राखेर दुर्गा यन्त्र अष्टाजन लेखेर घटस्थापना गर्नुपर्छ । र घडाको वरिपरि राखिएको शुद्ध माटोमा जमरा छर्नुपर्छ ।

नवरात्रभर भगवती दुर्गाका नौ स्वरूपको पूजा घडामा अवस्थित थालीमा गरिन्छ ।

त्यसमा दुर्गा भवानी सपरिवारको सशक्तिको आव्हान गरेर पूजा गर्नुपर्छ । पूजा गरेर जमरा राखियो भने पक्कै पनि हाम्रो सुख शान्ति समृद्धि हुन्छ ।

यसरी छरिएको जमरामा बिहान बेलुका नित्य पूजा गरेर ९ दिन ९ रात चोखो पानी हाल्नुपर्छ । र बिस्तारै जमरा पहेँलो हुन थाल्छ ।

जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रसन्न मानिन्छ । जमरालाई दुर्गादेवीको प्रसादका रूपमा विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्