Logo

विपद् प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु



काठमाडौं, २ कार्तिक । गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिनुभयो ।

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक,झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयम् सेवक ब्युरो गठन गरिएको र हालसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयम्सेवक दर्ता भइसकेको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै कुनै प्राकृतिक प्रकोप आइरहने गरेकाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

असोज महिनामा आएको बाढी पहिरो प्रभावितहरू अझै राहतबाट वञ्चित भएको भन्दै बैठकमा सांसदहरुले तत्काल राहत पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्