Logo

एक महिनामा छ हजारले गरे पाथीभराको दर्शन



ताप्लेजुङ, २ कार्तिक । असोज महिनामा करिब छ हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।

अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम हो। यसवर्ष पाथीभरा दर्शनको मौसम सुरु भएलगत्तै भएको अविरल वर्षाका कारण असोज १२ गतेदेखि ठाउँ–ठाउँमा गएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा तीर्थयात्रीले तीर्थयात्रामा निस्कन पाएका थिएनन्। सडक अवरुद्धसँगै असहज परिस्थितिबिच असोज महिनामा कुल पाँच हजार ९४९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।

मुख्य मौसम दसैँको नवरात्रिको समयमा करिब दुई सातासम्म सडक अवरुद्ध भएकाले पाथीभरामा भक्तजनको उपस्थिति न्यून भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नवरात्रिको अवधिभर पाथीभरा दर्शनमा स्थानीय मात्र पुगेका थिए। अवरुद्ध सडक अर्थात मेची राजमार्ग खुलेपछि मात्र पाथीभरामा जिल्लाबाहिरका भक्तजन आउन थालेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

हाङ्बाङका अनुसार सडक अवरुद्ध खुलेसँगै दसैँको अन्तिमतिर मात्र बाहिरका जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता, आसाम लगागतबाट पाथीभरा दर्शनमा भक्तजन आउन थालेका थिए। समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार पछिल्लो तीन चार दिनयता मात्र पाथीभरामा दैनिक एक हजारभन्दा बढी भक्तजन पुग्न थालेका छन्।

दसैँको नवरात्रिको समयमा एकैदिन १५ हजार जनासम्म भक्तजनले पाथीभरा दर्शन गर्ने गरेकामा यसवर्ष सडक अवरुद्धले बाधक भएको पुर्कुटीको भनाइ छ। मुख्य मौसमका बेला पाँचथरको हेवाखोलामा रहेको बेलिब्रिज बगाउनुका साथै पाँचथर, इलाम खण्डमा विभिन्न ठाउँमा पहिरो झरेर मेची राजमार्ग अवरुद्ध बनाएको थियो। यस्तै धरान, धनकुटा–मूलघाट हुँदै पाँचथरको जोरसाल जोड्ने तमोर कोरिडोर पनि बाढीपहिरोले अवरुद्ध बनाएको थियो। उक्त दुवै सडक मार्ग खुलेसँगै हाल पाथीभरामा तीर्थयात्रीको आउजाउ बाक्लै हुन थालेको समितिले जनाएको छ।

यसैबिच पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा बिहीबार पाथीभरामा पञ्चबलीसहित विशेष पूजा आयोजना गरिएको छ। असोज शुक्ल पूर्णिमाको अवसर पारेर पञ्चबलीसहित पूजा आराधना गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। थेबेका अनुसार भेडा, बोका (बाख्रा), हाँस, कुखुरा र परेवाको बली चढाएर पूजा गरिएको छ।

पाथीभराको उत्पत्ति भेडाको बलि चढाएर भएको भन्ने किम्बदन्ती रहेकाले भेडासहित पशुपन्छी बली दिएर पूजाआराधना गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा बलि दिएर वा बिना बलि दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास गर्ने गरिएको छ। सोहीअनुसार सबैको जनचाहना र मनोकाङ्क्षा पाथीभराले पूरा गरिदिउन् भन्ने उद्देश्यसहित पञ्चबलि पूजा आयोजना गरिएको समितिले जनाएको छ। समितिका अनुसार बिहीबार एक हजार ४२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्