झापा, २१ मंसिर । हल्दीबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको लागि परिचयपत्र वितरण शुरु गरीएको छ । गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर मंसिर २० बाट गते वडा नं ४ बाट शुरू गरिएको हो ।
प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी एवं राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको उक्त कार्यक्रममा वडा भित्रका नयाँ पुराना गरी ३१ जना महिला, ३३ जना पुरुष गरी जम्मा ६४ जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवंम कार्ड वितरण गरिएको थियो।
स्वास्थ्य परीक्षण पश्चात १ जनालाई रातो ,२ जनालाई निलो, २ जनालाई पहेँलो र १ जनालाई सेतो कार्ड वितरण गरिएको थियो। कार्यक्रममा मेडिकल अफिसर सहित स्वास्थ्यकर्मीहरूले आँखा, कान परिक्षण सहित फिजियोथेरापी सेवा पनि प्रदान गरेका थिए।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, ४ नं वडाका वडा अध्यक्ष सन्तकुमार थापा, योजना शाखा प्रमुख राजन न्यौपाने, करूणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला, वडा सदस्यहरू भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले गर्नुभएको थियो ।







