Logo

ताप्लेजुङको पाथीभरामा प्रहरीको गोली लागेका ३ जनाको अवस्था गम्भीर



ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार प्रहरी र ‘नो केबलकार समूह’ बीच झडप भएको थियो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर ४ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती रहेका छन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।

उनीहरुको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिनुभयो । मंगल लावतीको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ ले आज आइतबारबाट गर्ने भनिएको आन्दोलन रोक्न शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो ।

शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गर्नुभएको छ ।

शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । झडपमा प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यो झडपमा पनि केही घाइते भएका थिए ।

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्