Logo

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको राप्रपाले गर्‍यो भर्त्सना



काठमाडौं, १८ जेठ । राजसंस्था पक्षधर आन्दोलनमा आइतबार सरकारले बल प्रयोग गरेपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको छ।

बैठकले, राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको हो।

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको तथा गिरफ्तार भएकालाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटनाप्रति पनि राप्रपा बैठकले आपत्ति प्रकट गरेको छ।

‘यो संवीधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ। राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

गिरफ्तार भएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने पनि राप्रपाले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्