झापा, २ असार। खाद्य सामग्री लिएर बिर्तामोडबाट इलामको जितपुरजाँदै पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
इलाम नगरपालिका ११ सोयाकको आहालेमा आइतबार साँझ प्र–१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो । दुर्घटनामा गाडी मालिक विष्णु पराजुलीको मृत्यु भएको हो । झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय पराजुलीको मृत्यु भएको बताइएको छ ।
त्यस्तै गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् ।