Logo

प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा सम्पन्न विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभई स्वदेश फर्किनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र विभिन्न उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत सलामी अर्पण गरेको थियो ।


२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो भने प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले यही असार १६ गतेदेखि १९ गतेसम्म स्पेनमा भएको सम्मेलनमा सहभागिता जनाएको थियो ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।

यस्तै, भ्रमणका क्रममा स्पेन सरकारका अध्यक्ष प्रधानमन्त्री पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो ।


प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको थियो ।

यस्तै, विभिन्न छलफल सत्रमा पनि प्रधानमन्त्री ओलीले सहभागिता जनाउनुभएको थियो भने अन्य साइड इभेन्टहरूमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

स्पेनमा प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग छलफल गर्नुभई नेपालको समृद्धिको यात्रामा जुट्न आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्