झापा, २ श्रावण । झापाको बिर्तामोडमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने बर्ष ३५ को दिपक पाण्डेको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
शुक्रबार अन्दाजी २स्२० बजे बिर्तामोड नगरपालिका-२ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाईते पाण्डेलाई उपचारको लागि बिएण्डसी अस्पताल लगिएपनि अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डे ज्यालादारी कर्मचारीको रूपमा कार्यरत रहेको विद्युत प्राधिकरण अनारमनीले जनाएको छ ।