Logo

प्रदर्शनमा बर्बर दमन भएको भन्दै सरकारको चौतर्फी विरोध

चारसय भन्दा धेरै घाइतेको उपचार हुँदै



काठमाडौं, २४ भदौ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको विपक्षी दलहरुले जनाएका छन् ।

हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । झडपमा ७१ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएकाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको ज्यान गएको छ ।

त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको ज्यान गएकोमा अहिलेलसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाण्डौ कीर्तिपुरका बुद्धि तामाङ, काठमाण्डौ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

यस्तै इटहरीमा ज्यान गुमाएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा चार सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ ।

उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्