Logo

भद्रपुरको मेची रंगशालामा झापा औद्योगिक महोत्सव आयोजना हुँदै



झापा, २१ पुष । झापाको भद्रपुरमा दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।

आयोजक झापा उद्योग वाणिज्य संघ जिल्ला समिति झापाले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा महोत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएको हो।

“समृद्धिको आधार, आर्थिक विकास स् कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पछिल्ला वर्षहरूमा झापा जिल्लाका उद्योग–व्यवसाय क्षेत्रमा देखिएको आर्थिक मन्दी र उद्योगी–व्यवसायीमा व्याप्त निराशालाई चिर्दै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ।

महोत्सवले उद्योग–व्यवसाय प्रवर्द्धनसँगै झापाको कृषि, पर्यटन तथा आदिवासी जनजाति र अल्पसंख्यक समुदायको संस्कृति तथा कला प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। महोत्सवमा हजारौँ दर्शकले अवलोकन गर्ने र करोडौँ रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।

सन् २०१९ को कोभिड–१९ महामारी तथा हालको आर्थिक मन्दीपछि सुस्ताएको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउँदै आर्थिक वृद्धिमा योगदान पुर्‍याउने प्लेटफर्मका रूपमा महोत्सवलाई लिइएको आयोजकको भनाइ छ।

महोत्सवलाई सफल बनाउन नौ वटा उपसमिति गठन गरी सक्रिय रूपमा काम भइरहेको जानकारी दिइएको छ। महोत्सवका मुख्य आकर्षणमा स्थानीय तथा राष्ट्रियस्तरका सांगीतिक तथा हास्यव्यङ्ग्य कार्यक्रम, स्थानीय गीत–नृत्य, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न जातजातिका सांस्कृतिक तथा परम्परागत प्रदर्शनी र झाँकी प्रदर्शन रहने जनाइएको छ।

कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सवप्रति नगरपालिकाको पूर्ण अपनत्व रहने बताएकी छन्। पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरूको जवाफ आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली, उद्योगी दिपेश ढकाल, नितेश बर्मा, भद्रपुर नगरपालिका वडा नं। ८ का वडाध्यक्ष मनोज सुब्बा तथा संघका महासचिव सुमन्त मैनालीले दिएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्