Logo

आज बिर्तामोडमा गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव, भजन, पूजा र दाता सम्मान कार्यक्रम हुँदै



झापा, ९ माघ । पूर्वकै पहिलो बिर्तामोड नगरपालिका–५ स्थित गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव आज अर्थात माघ ९ गते श्रद्धा र भव्यताका साथ मनाइँदैछ। मन्दिर व्यवस्थापन समितिका अनुसार आजको अवसरमा विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा मन्दिर स्थापना र निर्माणमा सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन हुँदैछ।

आज मन्दिर परिसरमा बिहानदेखि नै भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। समितिका सदस्य भेषराज भण्डारी प्रशान्तका अनुसार साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले सङ्गीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिनेछ।

मन्दिर निर्माणमा योगदान पुर्‍याउने स्थानीय सरकार, प्रदेश सरकार तथा अन्य दातासहित ७५ जनालाई आजकै कार्यक्रममा सम्मान गरिने संरक्षक रौनक बंशलले जानकारी दिएका छन्। उनका अनुसार समुदायको सहकार्यले मन्दिरलाई छोटो समयमै आस्थाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुगेको छ।

करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको गायत्री माता मन्दिरले सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनको दर्शन गरिसकेको व्यवस्थापन समितिको दाबी छ। अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा मन्दिरको पहिचान बढ्दै गएको बताइएको छ।

मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्था मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ। आजको कार्यक्रममा सम्पूर्ण श्रद्धालु, दाता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन समितिले हार्दिक आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्