Logo

निपाह भाइरसको जोखिमबाट कसरी बच्ने ?



काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमप्रति सजग रहँदै नागरिकलाई आतङ्कित नहुन आग्रह गरेको छ। छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै मन्त्रालयले आवश्यक पूर्वतयारी र निगरानीलाई तीव्र बनाएको जनाएको हो।

विश्व स्वास्थ्य संगठनले विश्व तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जोखिम न्यून आँकलन गरे पनि मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई सचेत गराइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत परीक्षण, पहिचान र रिपोर्टिङका लागि आवश्यक तयारी पूरा गरिएको बताइएको छ।

मन्त्रालयका अनुसार निपाह भाइरस चमेराबाट दूषित फलफूल सेवन गर्दा, सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कबाट वा चमेरो हुँदै सुँगुरमार्फत मानिसमा सर्न सक्छ। त्यसैले व्यक्तिगत सरसफाइ र सुरक्षित खानपानमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरिएको छ।

नागरिकलाई फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, उमालेको वा सुरक्षित पानी मात्र पिउने, जनावर राखिने स्थान सफा राख्ने, मासु काट्दा सुरक्षा सामग्री प्रयोग गर्ने र भिडभाडमा मास्क लगाउन मन्त्रालयले सुझाव दिएको छ।

ज्वरो, टाउको वा मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी वा अचेत हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आइसोलेसनमा राख्नुपर्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको कुनै पुष्टि नभएको स्पष्ट गर्दै जोखिम न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वयमा निरन्तर निगरानी भइरहेको जनाएको छ। शङ्कास्पद अवस्था देखिएमा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ। छ।

प्रतिक्रिया दिनुहोस्