Logo

त्रिभुवन आर्मी सातौँ झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश



झापा, २५ माघ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले सुरुदेखि नै दबाब बनाउँदै स्पष्ट जित हात पारेको हो।

खेलको २७औँ मिनेटमा दिनेश हेञ्जनको आकर्षक क्रसलाई नविन लामाले वान–टचमा जाली चुमाउँदै आर्मीलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत हुँदा आर्मीले अग्रता दोब्बर बनायो।

दोस्रो हाफमा जर्जप्रिन्स कार्कीले करिब २५ यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएपछि आर्मी ३–० ले अघि बढ्यो। खेलको ३२औँ मिनेटमा कुशल देउवाको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको चर्च ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन। २१औँ मिनेटमा जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले रोक्दै टोलीलाई सुरक्षित राखे।

यसअघि चार संस्करण जितिसकेको आर्मी पुनः उपाधि दाबेदारका रूपमा देखिएको छ। गत सिजन पहिलोपटक सहभागी भएर उपाधि जितेको चर्च ब्वाइज भने यसपटक पहिलो चरणमै बाहिरिएको छ।

खेलको प्लेयर अफ द म्याच आर्मीका नविन लामा घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सोमबारको पहिलो क्वार्टरफाइनलमा झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्