झापा, १० जेठ । नेपाल प्रहरीले बिर्तामोडका विभिन्न स्पा तथा मसाज सेन्टरमा छापा मारेर तीन युवतीलाई पक्राउ गरेको छ।
स्पा सेन्टरमा यौन गतिविधि हुने गरेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाही अघि बढाएको हो। कार्यालयको कमाण्ड सम्हालेको दुई दिनमै डीएसपी सन्तोष पाठक को नेतृत्वमा प्रहरी टोलीले छापा मारेको जनाएको छ।
प्रहरीले बिर्तामोडका आधा दर्जन स्पा तथा मसाज सेन्टरमा अनुगमन तथा छापा अभियान चलाएको थियो।
छापा परेका स्पामा भाटभटेनी नजिक रहेको कोहिनूर, होटल आनन्द एण्ड स्पा, नेचर युनीसेक्स सैलुन एण्ड स्पा, वारियर स्पा, द अब्सुलोटे प्रोफेसनल स्पा एण्ड सैलुन तथा कर्मा स्पा रहेका छन्।
प्रहरी स्रोतका अनुसार कर्मा स्पाबाट सञ्चालिकासहित तीन जनालाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








