झापा, १८ जेठ । नेपाल पत्रकार महासंघ झापाले पत्रकारिताको नाममा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार झापाको हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओली नामका व्यक्तिले आफू विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेको दाबी गर्दै उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ।
महासंघले केही सञ्चार संस्थाका सञ्चालकबाट प्राप्त गुनासो उद्धृत गर्दै सम्बन्धित व्यक्तिले विभिन्न सञ्चारमाध्यमको नाम प्रयोग गरी रकम असुल्ने प्रयास गरेको आरोप लगाएको जनाएको छ। यस प्रकारका गतिविधिले पत्रकारिता क्षेत्रको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्न उठाएको महासंघको भनाइ छ।
महासंघले पत्रकारिताको आवरणमा गरिने धाकधम्की, अनुचित आर्थिक लेनदेन वा रकम माग्ने जस्ता गतिविधिको घोर निन्दा तथा भर्त्सना गरेको छ। साथै, यस्ता घटना भएमा सम्बन्धित निकायमा उजुरी गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
महासंघले सामाजिक सञ्जालका पेज सञ्चालन गर्ने व्यक्तिहरूलाई पत्रकारिताको नाममा गलत गतिविधि नगर्न र सञ्चार क्षेत्रको प्रतिष्ठामा आँच नपुर्याउन सचेत गराएको छ।
पत्रकारिताको मर्यादा र विश्वसनीयतामा असर पुर्याउने यस्ता गतिविधि तत्काल रोक्नुपर्ने भन्दै महासंघले घटनाको अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।









