झापा, १६ असार । लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सन्देशमूलक नाटक प्रदर्शन गरिएको छ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा सम्पन्न कार्यक्रममा अभियान नाट्य समूहका कलाकारहरूले विद्यार्थीलाई लक्षित गर्दै लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरलाई नाट्यमार्फत प्रस्तुत गरेका हुन्।
नाटकमा लागुऔषधको लतले निम्त्याउने शारीरिक, मानसिक, सामाजिक र आर्थिक क्षतिबारे जानकारी गराउनुका साथै विद्यार्थीलाई दुर्व्यसनबाट टाढा रहन प्रेरित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन विद्यालय, अभिभावक, स्थानीय समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई सचेत, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो।
बिर्तामोड नगरपालिकाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। केही दिनअघि नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषधविरुद्ध झापा अभियान’को शुभारम्भ गरेको थियो।
बिर्तामोड क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाइने नगरपालिकाले जनाएको छ।






