Logo

बिचौलियाले खाए पानीको मूल्य बीचैमा, उपभोक्ता ठगीमा



झापा, २३ वैशाख । झापाका पानी उद्योगबीच भएको प्रतिस्पर्धाले लागत अनुसारको मूल्य नपाएर संकटमा परेमा छन् भने उपभोक्ताले बढी मूल्य तिरेर पानी खरिद गर्न बाध्य छन् । पानी उद्योगले लागत मूल्य नपाएर संकटमा परेको बताए पनि पानीका नयाँ उद्योग खोल्ने क्रम जारी छ ।

कनकाई नगरपालिकामा रहेको कञ्चन पानी उद्योगका संचालक किरण दवाडीले उत्पादन लागत खर्चमा पानी बेच्नु पर्ने बाध्यता रहेको बताए । उनले एक बोतल पानीको उत्पादन लागत खर्च १३ रुपैँया पर्ने भए पनि कतिपय उद्योगले १० रुपैयाँ भन्दा कम मूल्यमा बिक्रेतालाई दिनेगरेको बताए । दवाडीले भने, ‘ प्रशोधित पानी प्रति बोतल १३ रुपैँया भन्दा कम लागतमा उत्पादन हुन सक्दैन ।’ लागत मूल्य भन्दा कम मूल्यमा पाइने पानीको गणस्तर कस्तो हुन्छ सजिलै अनुमान लगाउन सक्नुहुन्छ ।’

उद्योगी दवाडीका भनाइले सस्तो मूल्यमा बिक्री हुने पानी कम गुणस्तरको हुने अनुमान गर्न सकिन्छ । घरेलु तषा साना उद्योग कार्यालय झापामा २६ वटा पानी उद्योग दर्ता छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दर्ता भएका उद्योगको गुणस्तर मापन गरि उत्पादनको स्वीकृति दिने गरेको घरेलु कार्यालय भद्रपुरका नायब सुब्बा विष्णुचन्द्र झाले बताए ।

झापामा मिनरल वाटर उत्पादन गर्ने एउटा पनि उद्योग छैनन् । दर्ता रहेका सबै उद्योगले प्रशोधित पानी उत्पादन गर्दछन् । अस्वस्थ्य प्रतिस्पर्धाले झापाका पानी उद्योग संकटमा परेको बताइरहेको बेला एक नयाँ उद्योग संचालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाको सुनमाईमा अढाई करोडको लागतमा सुनमाई वाटर प्रालि सञ्चालनमा आएको छ । सुनमाई वाटर प्रालि मिनप्रकाश मैनाली र सागर मैनालीले संचालनमा ल्याएका हुन् । प्रालिले गत चैतबाट सुनमाई झरना ब्राण्डको प्रशोधित पिउने पानी बजारमा ल्याएको छ ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार सञ्चालनमा आएको उद्योगका उत्पादन म्यानेजर सुनिल भण्डारीले बताए । ‘हामी माग अनुसार उत्पादन बढाउँछौँ’, उनले भने, ‘उत्पादन गरेर स्टक राख्नुभन्दा खपत अनुसार उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

सुनमाई वाटर प्रालिले उत्पादन गर्ने पानी गुणस्तरीय भएको दावी गर्दै भण्डारीले भने, हाम्रो उद्योगबाट उत्पादित पानी पहाडको जरुवा पानी हो, हामी जमिन मुनिको पानी प्रयोग गर्दैनौ ।

बजारमा उपलब्ध पानीमध्ये सुनमाई झरना गुणस्तरीय भएको बताउँदै उनले भने, ‘पानीको गुणस्तर उपभोक्ताले बुझ्न थालेका छन् । दैनिक रुपमा हाम्रो पानीको माग बढ्दो छ ।’ पानीको गुणस्तरमा सम्झौता नहुने दाबी गर्दै अर्का सञ्चालकले भने, ‘बजारमा अन्य पानीको तुलनामा सुनमाई झरना केही महँगो जस्तो लाग्छ तर गुणस्तर र लागत अनुसारको मूल्य हामीले तोकेका छौँ ।

बोतलमा उत्पादित पानी किराना, औषधी, पान लगायतका साना ठूला पसलदेखि होटलसम्म बिक्री हुने गर्दछ । उद्योगले १ लिटर पानीको बोतल खुद्रा बिक्रेतालाई १० रुपैँयादेखि १३ रुपैँयासम्ममा बिक्री गर्दछन् । तर, खुद्रा बिक्रेताले २०,२५, ३० रुपैँयासम्म असुल्ने गरेका छन् । होटल तथा रेष्टूरेण्टले ४० रुपैँयासम्म १ बोतल पानीको मूल्य लिनेगरेका छन् । खुद्रा बिक्रेताले फ्रिजमा राखेको पानीको ५ रुपैँया बढी र बाहिरको प्रति बोतल ५ रुपैँया कम मूल्य लिनेगरेका छन् ।

कानुन अनुसार जिन्सीमा अधिकतम् २५ प्रतिशत भन्दा बढी मूल्य नाफा लिए त्यो गैरकानुनी हुन्छ । कानुनमा बढी नाफा असुलि गर्नु ठगी हो । तर, पानी उद्योग संचालनको अनुमति दिने गुण नियन्त्रण कार्यालय, जिल्ला बजार अनुगमन समितिले अनुगमन नगर्दा व्यवसायीले उपभोक्ताबाट बढी मूल्य लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्