Logo

वैदेशिक रोजगार व्यवसायी सङ्घमा प्रगतिशिल समूहको पराजयका यस्ता छन् कारण



काठमाडौँ, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । प्रगतिशिल समूह नराम्ररी पराजित भएको छ ।

सङ्घको २७औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । उनले कूल ३३० मत प्राप्त गरेका छन् ।

सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २ सय ८३ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए ।

पराजयको कारण
लोकतान्त्रिक समूहको विजयले काँग्रेस उत्साहित बनेको छ भने नेकपा निकटका समूहमा चुनावी हारको अनेक कोणबाट समिक्षा हुन थालेको छ ।

नेकपा निकटका व्यवसायी संख्यात्मक हिसाबले बढी हुँदा हुँदै पराजय हुनुको मुख्य कारण सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्नु भएको निस्कर्ष निकालेका छन् । भदौ १८ गते भित्र धरौटी नराख्ने म्यानपावर कम्पनी खारेज भएका थिए । संशोधित बैदेशिक रोजगार ऐन अनुसार वृद्धि भएको धरौटी राख्ने ८ सय ६४ मात्र म्यानपावरले जोगिएका छन् ।

सरकारले ७ लाखबाट २ करोडसम्म धरौटी वृद्धि गरेको छ । संशोधित बैदेशिक रोजगार ऐन अनुसार ३ हजारसम्म पठाउने म्यानपावरलाई ५० लाख नगद र १ करोड ५० लाखको बैंक ज्ञारेण्टी, ५ हजार जनासम्म पठाउनेलाई १ करोड नगद र ३ करोडको बैंक ज्ञारेण्टी र ५ हजार भन्दा बढी पठाउने म्यानपावर कम्पनीसँग २ करोड नगद र ४ करोडको बैंक ज्ञारेण्टी माग गरेको थियो ।

म्यानपावरले धरौटी भाद्र १८ गतेसम्ममा जम्मा मिति लगत्तै निर्वाचन भएकाले नेकपाका समर्थक र कार्यकर्ताले नै सरकारको रिस निर्वाचनमा पोखेको एक व्यवसायीले बनाए । उनले भने, धरौटी वृद्धि हुनु र निर्वाचनसँगै भएकाले आफ्नै साथीहरुले भोट हालेनन् ।

प्रगतिशिल समूहका निवर्तमान अध्यक्ष रोहण गुरुंगलाई तत्काल निर्वाचन नगराउन गरेको आग्रह अस्वीकार गर्दा अध्यक्षले मानेका थिएनन् । भाद्र दोस्रो सातामा म्यानपावर व्यवसायीको धरौटी रकम जुटाउन धौडधुप थियो । धरौटी बुझाउने अन्तिम दिन म्यानपावर व्यवसायीको सबैभन्दा बढी बैंक ज्ञारेण्टी बनाउने

बागबजारको प्राइम बैंकमा धरौटी र बैंक ज्ञारेण्टी राख्ने व्यवसायीको भिड थियो । पैसा नपुगेर म्यानपावर व्यवसायी तनावमा देखिन्थे । राती अबेरसम्म पनि बैंकले धरौटी र बैंक ज्ञारेण्टी बनाएको थियो । कतिपय म्यानपावर व्यवसायी बैंक प्रवन्धकलाई एक दुई दिनमा नपुग पैसा पूरा गर्ने कसम खाँदै धरौटी मिलाई दिन आग्रह गर्दै थिए ।

ठूला म्यानपावर व्यावसायीले धरौटी सहजै बझाएपनि साना व्यवसायीलाई भने निकै कठिन थियो । मिटर व्याजमा पैसा खोजेर धरौटी राख्ने व्यवसायीले किन नेकपाका साथीहरुलाई भोट कसरी हाल्छन् रु भन्दै एक व्यवसायीले निर्वाचन पछि प्रतिक्रिया दिए ।

नेकपा समर्थित व्यवसायीले पार्टी एकता भएपनि संगठन एकता हुन नसक्नु, नयाँ सदस्यलाई समेटन नसक्नु, धेरै सदस्य भएकाले सजिलै जितिन्छ भन्ने मानसिकता राखेका कारण निर्वाचनमा पराजय भएको निस्कर्ष निकालेका छन् ।

निर्वाचित कार्य समिति
सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन्

सङ्घको अध्यक्षमा विजयी भएपछि गैरेले सङ्घलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताए । सङ्घको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए ।

निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्