Logo

मेची अञ्चल अस्पताललाई कोरोना संक्रमण उपचार अस्पताल बनाउने तयारी



झापा, २४ चैत । प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले मेची अञ्चल अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने बताएका छन् ।

मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन सकिने नसकिने सम्भावनाको निरीक्षण गर्न आज आएका मन्त्री घिमिरेले तत्काल आइसोलेसन वेट थप गरी कोरोना उपचारका लागि तयारी गर्नु पर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर पिताम्बर ठाकुरले तत्काल वढीमा २५ वेडको आइसोलेसन बनाउन सकिने बताए । उनले २५ वेड भन्दा धेरै आइसोलेसन बनाउँदा उपचारका अन्य सेवा बन्द गर्नु पर्ने अवस्था रहेको जनाकारी दिए । निजी अस्पतालले बिरामी फर्काको अवस्था भएकाले मन्त्री घिमिरेले तत्काल अन्य सेवा बन्द गर्न नहुने बताए ।

अस्पतालमा स्वास्थ्यकर्मी, अस्पताल बिकास समिति लगायतको सहभागितामा भएको छलफलमा मन्त्री घिमिरेले बिराटनगरमा ५० वेडको कोरोना संक्रमितको उपचार गर्न अलग्गै अस्पताल संचालनको अन्तिम तयारी भएको जनाकारी दिए । उनले बिराटनगरको ५० वेडले नपुगे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अञ्चल अस्पताल र उदयपुरको जिल्ला अस्पताल प्रयोग गर्ने प्रदेश सरकारको तयारी गरेको बताए ।

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनु पर्ने उनको जोड थियो । सहभागीले मन्त्री घिमिरेलाई अपुग स्वास्थ्यकर्मी स्थानीय तहबाट पुरा गर्न सकिने सुझाव दिएका छन् । उनीहरुले ती स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राख्नु पर्ने बताए । मन्त्री घिमिरेले उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइनको प्रवन्ध गर्न पनि निर्देशन दिएका छन् ।

मेची अञ्चल अस्पताल प्रदेश सरकारको सबै भन्दा ठूलो अस्पताल हो । प्रदेश सरकारले आइसोलेसन तयार गर्न १५ लाख पठाइसकेको छ भने भ्यान्टिलेटरका लागि संघीय सरकारसँग १ करोड माग गरिएको छ । मेचीमा कोरोना संक्रमणको उपचार भए पहाडका तीन जिल्लाका लागि पनि सहज हुने सहभागीको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्