Logo

स्मृति ग्रन्थमा ‘गौरिशंकर खड्का’



दुई वर्ष भैसकेको रहेछ, ‘स्मृतिमा गौरीशङ्कर खड्का (क. राजेन्द्र) नामक ३६८ पृष्ठजतिको स्मृति ग्रन्थ ल्याएर आफ्नो पुस्तकालयमा राखेको । दुई–तीन दिन लगाएर अक्षरशः पढें ।

मैले त गौरीशङ्कर ज्यूलाई एक–दुई वटा कार्यक्रममा नजिकबाट देखेको मात्र हुँ । यो स्मृतिग्रन्थ आद्योपान्त पढेर उहाँलाई चिन्न खोजें । सारै राम्रो कागज, राम्रो छपाइ, सुन्दर र आकर्षक आवरणमा तैयार गरिएको, मुद्रणमा पनि त्यति अशुद्धि नभएको, लेखहरु पनि पठनीय भएको ग्रन्थ राम्रो लाग्यो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु प्रचण्ड, वैद्य, बाबुराम, बादल, महरा, वर्षमान, गिरीराजमणि पोखरेलहुँदै विशेषतः क. राजेन्द्रका पार्टीका धेरैधेरै सहयोद्धाहरुको स्मृति र परिवारका आमा, दाजुहरु, जीवनसाथी, बहिनी, छोरा आदि गरी पौने सयजति स्मृतिलाई यसले समेटेको छ ।

पत्रकारहरु उमाकान्त खनाल, चन्द्र भण्डारी, तीर्थ सिग्देल र नेता केशवकुमार बुढाथोकीका लेखले फरक धारका व्यक्तित्वहरुको स्मृतिको प्रतिनिधित्व पनि गरेको छ ।

संसारमा कोही पनि सबैको प्यारो त हुन सकिन्न नै । तैपनि धेरैको लागि आँखाको कसिँगर नभैकन, घोच्ने नभैकन बाँच्न सकिन्छ । यस्तै धेरैका लागि प्रिय हुनुहुन्थ्यो क. राजेन्द्र भन्ने यस स्मृतिग्रन्थका लेखहरुले प्रष्ट्याउँछन् । तैपनि स्मृतिहरु आफू र आफ्नो उँभ्याइअनुकूल हुँदा रहेछन् भन्ने कुरा क. प्रचण्डको भनाइ र क. वैद्यको भनाइबाटै प्रष्टिन्छ ।

क. प्रचण्डले भन्नुभएको छ– “पार्टीभित्र कतिपयले कमरेड राजेन्द्रलाई आफ्नो नजिक भएको र आफैंले हुर्काएको समेत ठान्ने गर्थे, जो पछि गलत लाइनमा गए र वैचारिक दृष्टिकोणले विचलित भए । उनीहरुलाई के लाग्थ्यो भने पहिलाको हिमचिम, निकटता र सँगै जेलजीवन बिताएको आधारमा आफू जता गए पनि उहाँलाई आफूसँगै गलत लाइनतिर डोर्याउन सकिन्छ । तर, उहाँ भने यस्तो सतिसालजस्तो भएर उभिने गर्नुहुन्थ्यो कि उहाँलाई कसैले कहिल्यै डग्मगाउन सकेन” (पृ–२५) ।

यसै गरी क। मोहन वैद्यले भन्नुभएको छ– “एक कम्युनिष्ट योद्धा हुँदाहुँदै पनि पार्टीभित्र चलेको भीषण दुई लाइन संघर्षमा उहाँले क्रान्तिकारी धारप्रति पक्षधरता जाहेर गर्न सक्नुभएन । त्यो उहाँको गल्ती थियो र त्यसमा हामी चिन्तित छौं ।” (पृ – ३१)

शीर्षनेताहरुका श्रद्धाञ्जलि र स्मृतिका लेखहरु महत्त्वका हुनु त स्वभाविकै हो । यसमा समेटिएका सबै लेखहरु अत्यन्तै महत्वका छँदैछन् । तैपनि मलाई उहाँको दाइ कुलबहादुर खड्काको स्मृतिले भने भावुक बनायो । दाजुको भाइप्रतिको प्रेम पूरै छचल्किएर आएको छ यस लेखमा । उहाँले त मेरा धेरै शब्द र वाक्यहरु पनि अपहरण गरेर यहाँ हाल्नुभएको छ । ‘स्मृतिका पानामा भाइ गौरीशङ्कर’ भन्ने यो लेख आँसुले लेखिएको लेख भन्छु म ।

अर्को रगतका आँसुले लेखिएको लेख त यसै पनि अनुमान गर्न सक्नुहुन्छ, सीता भट्टराई खड्काको ‘जीवनसाथीसँग अविस्मरणीय यात्रा’ भन्ने लेख छ । “गौरीशङ्कर खड्का मेरो पति हो भने कमरेड राजेन्द्र मेरो नेता पनि हो । उहाँको निधनपछि वास्तवमा म टुहुरो भएँ” यस भनाइले मलाई भावुक बनायो । अर्को उल्लेख गर्न नै मन लाग्ने वडो पठनीय स्मृतिलेख छ क. राम कार्कीको ।

पुस्तक राम्रो छ । छापिएर आएर मैले पाएको पनि दुई वर्ष भएछ । अब सच्चिँदैन नै । शीर्ष नेताहरु त चिनिन्छन् नै तर यस ग्रन्थमा जसजसका लेखहरु छापिएका छन्, ती लेखकहरुको लेखका टुप्पामा लेखकको पूरा नाम, ठेगाना र वर्तमानको जिम्मेवारी दिएर एक लाइनको परिचय दिन सकेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । पृ. २५८ र २६० मा लालबहादुर खड्का र हरिशङ्कर खड्काका लेख छन्, तस्वीर चाहिँ दुबैमा एउटै छापिएको छ । यस्तो गल्ती सच्चिनुपथ्र्यो ।

जे होस् १ यस स्मृतिग्रन्थले क. गौरीशङ्कर खड्का सम्पन्न वर्गबाट आएको योद्धा भएपनि श्रमिक वर्गको मुक्तिप्रति प्रतिबद्ध, निष्ठावान र भरपर्दो क्रान्तिकारी हुनुहुन्थ्यो । सरल स्वभावको, मृदु र मितभाषी, मितव्ययी तर निडर र निर्भिक हुनुहुन्थ्यो र असमयको निधनले झापालाई, नेपाली श्रमिक जनतालाई सँगसँगै नेपाललाई अपूरणीय क्षति पुग्यो भन्ने छर्लङ्ग्याउँछ । म गौरीशङ्कर खड्का (क. राजेन्द्र)लाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

(यो सामग्री साहित्यार तथा लेखक खरेलको फेसबुक पेजबाट लिइएको हो )

प्रतिक्रिया दिनुहोस्