Logo

विद्यार्थी जीवनको ‘त्यो राजनीति’



झिसमिस साझ थियो १ बादल बटुलियर एकमुष्ट भएको थियो । सिमसिम पानी सँगै चिसो हावाले मन मग्न भएको थियो । त्यो मैनबत्ती बालिएको मधुरो कोठाबाट बाहिर हेर्दा, निकै खुलदुली लाग्दो दृश्य देखिन्थ्यो । प्रकृतिलाई हेरेर म निकै रमाउँदै थिए ।

भर्खर भर्खर गोठे घरबाट घरमा सरेका थियौँ, नयाँ घरमा मेरालागि उउटा कोठा अलग्गै थियो । कापी, किताब, कपडा र मेरा व्याक्तिगत सामग्रीहरु सबै त्यही हुन्थ्यो । मानिलिउँ मेरो एउटा सानो संसार त्यही कोठामा सजिएको थियो ।

कोही पाहुना वा मेरा स्कूले साथीहरु आउदा त्यही बसाइन्थ्यो । गोरेटोदेखि नजिकै घर भएर हो, या मेरो परिवार सहज र मिलनसार भएर हो, कहिलेकाही राजनीतिक छलफल पनि त्यही कोठामा हुन्थ्यो ।

म सबैकुरा त बुझ्न सक्दिन थे, तर हाम्रो मान्छे, आफ्नो पार्टी यो रहेछ भनेर चर्चा गरेको कुरा अलिअलि बुझ्न थालेको थिएँ । दिमाग भित्र बिस्तारै राजनीतिक कुरा घुम्दै थियो । मनमा जोस, जाँगर पलाउँदै थियो । कानमा कुनै नयाँ स्वर गुञ्जिीदै थियो ।

घरमा आएका ती नेतालाई देखेर म आफैलाई केही परिवर्तन गर्ने जमर्को गरिरहेको हुन्थे । ठूलाबडा र समझदार मान्छेहरु सबै आफन्त हुन् जस्तो लाग्दथ्यो ।

समाजमा अन्य राजनीतिक दलहरु हामी भन्दा धेरै अगाडी र शक्तिशाली त थिए तर उनीहरु मलाई असभ्य र असहज लाग्दथे ।

उ बेला बुबा, आमा, भाई, बहिनी भन्दा नजिकको लाग्न थालेको थियो राजनीति र पार्टी । जुन आफन्त जस्तै प्यारो हुन्थ्यो ।

एकदिन, शहरबाट आएका केही उच्चस्तरीय नेताहरु र स्थानीयले कोठा खचाखच भरीएको थियो । संचालक ज्युले निक्कै उत्साहजनक तरिकाले कार्यक्रम अगाडी बढाई रहेका थिए । म कुनामा बसेर एकोहोरो टोलाई रहेको थिए । दुई चार जनाको मन्तव्य सुनेपछि मलाईपनि नेता बनौँ बनौँ लाग्न थाल्यो ।

त्यसदिनपछि मेरो बुझाई समाज सेवा गर्नका लागि राजनीतिक कदम नै सबैभन्दा पहिलो पाईला रहेछ भन्ने लाग्यो । ठूलो भएर राजनीति गर्नुपर्छ मैले मनमनै सोचे ।

दिनपछि महिना, साल फेरिँदै गए, ठाउँ ठाउँमा हाम्रो पर्टीको कार्यक्रम हुँदा म पनि बा र आफन्तको पछि लागेर लुखुर लुखुर हिड्न सुरु गरीसकेको थिए । राजनीतिले मेरो दिमागमा बेसरी जगेडीसकेको थियो ।

राजनीतिमा मेरो रुचि र आकर्षण बढी रहयो । मनमा राजनीतक कुराले घर गर्ने र समाजमा हुने राजनीतिक गतिविधिमा संलग्न हुने प्रक्रिया चलिरहयो । जनीतिक सभा, समारोहमा भाषण गर्ने अवसर नपाएपनि स्कूलमा हुने हाजिरी जवाफ, बादविवाद प्रतियोगिता कार्यक्रममा मज्जाले सहभागी हुन थाले ।

स्कूलमा हुने प्रतियोगितामा राम्रो स्थान पाउँथे । प्रमाण पत्र र पुरस्कार पाउँदा मन फुरुङ्ग हुन्थ्यो । स्कूलका किताबमा भन्दा बाहिरी ज्ञानमा रहमाउन थाले । अन्य विद्यार्थी भन्दा अलिक फरक सोच थियो मेरो ।

समय बित्तै गएसँगै राजनीतिमा सक्रिय हुने विचार आइरहेको थियो । राजनीतिक काम गर्ने इच्छा प्रकट गरे, मञ्चमा बोल्ने अवसर मागे तर बेवास्ता हुन्थ्यो । मेरा कुराको खासै सुनुवाई हुँदैन्थ्यो । राजनीतिमा बोल्ने अवसर माग्दा पार्टी सदस्य नभएकाले नपाउने जवाफ पाउँथे । के आधारमा स्टेजमा बोलाउनु भन्ने जवाफले म स्तब्ध हुन्थे ।

सबैलाई थाहा थियो, उनीहरुले वक्ता रुपमा निम्तयाएका व्यक्ति भन्दा उत्कृष्ट मनतव्य दिने क्षमता मसँग छ । मनतव्य दिन मात्र होइन, समाजमा तल्लो वर्गका मानिससँग नजिक हुने र उनीहरुसँग सम्बन्ध राख्न पनि महिले सिकी सकेको थिए ।

राजनीतिमा सक्रिय हुने मेरो त्यो चाहना बारम्बार लत्याइयो । राजनीतिक प्रतिको मेरो प्रेम निराशामा परिणत हुँदै थियो । पहिला मन परेका टोलका नेता देख्दा मनमा सम्मानको भाव जाग्न थालेको थियो तर पछि तीनैलाई समाजका भ्रष्टको रुपमा देख्न थालेको थिएँ ।

निर्वाचनमा नजिकको हुने पार्टीमा ठाउँ दिन्छौँ भन्ने आश्वाशन दिएर प्रचारमा खटाउँथे । फरक पार्टीका सँग शत्रुतापूर्ण व्यवहार हुन्थ्यो । नेताले त्यसै गर्न सिकाउँथे । तर, निर्वाचन सकिएसँगै हाम्रो महत्व हुँदैनथ्यो, म जस्ता साथीहरु महत्वहीनका हुन्थ्यौँ ।

गाउँ समाजमा हुने राजनीतिक खिचातानी देशका ठूला नेतामा पनि देखिएको छ । युवालाई राजनीतिको सही बाटो हिँडाउने भन्दा आफ्नो भजन मण्डी बनाउने, गुट चलाउने गर्दै आएका छन् । यसले देश, समाज र जनाताले दुखः पाएका छन् ।

देश र समाजको नेतत्व गर्न सक्ने सक्षम र इमान्दार युवाले ठाउँ नपाउने अवस्था छ । खराम मानिसलाई सिंहदरबार पुर्याउने पनि यही राजनीति हो । नेताले जनतालाई खेलौना बनाएको देख्दा विद्यार्थी कालमा पार्टीको झण्डा बोकेर गलत गरिएछ भन्ने लाग्न थालेको छ । त्यसैले अब कहिल्यै कुनै पार्टीको झण्डा बोक्ने छैन, बरु देशको झण्डा बोक्छु, देशकै झण्डा उठाउनेछु ।
(दाङ निवासी खनाल भारतको नयाँ दिल्ली बस्दै आउनु भएको छ ।)

प्रतिक्रिया दिनुहोस्