Logo

सोसल मिडियाको प्रभावः पत्रकारिताको बदलिँदो सिद्धान्त



मानव सभ्यताको विकाससँगै सन्देश आदानप्रदान हुने गर्दथ्यो । प्राचीनकालमा संकेत र चित्रबाट आरम्भ भएको सन्देश प्रावह गर्ने कार्य लिपीको विकासपछि तीव्रता पायो । शिलालेख, ताम्रपत्र, परम्परागत छपाइ हुँदै आधुनिक छपाइको विकासपछि पत्रकारिताको विकास भएको हो ।

सभ्यता र प्रविधिको विकासले सूचना र सञ्चारमा पनि परिवर्तन हुँदै गयो । कुनै समयमा पुस्तक प्रकाशनले ठूलो अर्थ राख्दथ्यो तर समयकक्रममा विकास र आविष्कार भएका पत्रिका, रेडियो र टेलिभिजनको विकासले सञ्चारमा क्रान्ति मात्र भएन, यसका सिद्धान्त, मूल्य मान्यता पनि स्थापित भए । सूचना प्रवाह कार्यमा संलग्न व्यक्ति विशेष दक्षता हुने भए, तीनलाई पत्रकार र तीनले गर्ने कार्यलाई पत्रकारिता भनिन थालियो ।

आमसञ्चार र पत्रकारिता राज्यको एक अनिवार्य र सर्वस्वीकार्य सिद्धान्तको रुपमा स्थापित भयो । पत्रकार र सञ्चारमाध्यमले नागरिकका अधिकार, मानवअधिकार, शिक्षा, स्वास्थ्य, चेतनामा अहम् भूमिका निर्वाह गरे । तर, सन् १९९० को दशकमा विकास भएको इन्टरनेट प्रविधिले सूचना प्रवाहका अर्को अभूतपूर्व क्रान्ति ल्याएको छ ।

२१ औँ शताब्दीको प्रारम्भसँगै परम्परागत मिडिया पत्रिका, रेडियो र टेलिभिजनको विकल्पमा नागरिक पत्रकारिता स्थापित हुँदै गएको छ । पत्रकार र व्यावसायिक मिडियाले प्रवाह गर्ने सूचनाको काम नागरिकले सोसल मिडियाबाट गर्न थालेका छन् ।

सोसल मिडियाको प्रभाव बढे पनि पत्रकारिताको सान्दर्भिकता समाप्त भएको भने होइन । परम्परागत माध्यम, लेखनशैली, प्रविधि भने फेरिएका छन् । पत्रकारिताका सीप, कला र प्रविधि मात्र फेरिएन, यसका सिद्धान्तमा पनि परिवर्तन भएको छ ।

पत्रकारिताको काम किटान त गर्न सकिँदैन तर पत्रकारिताले सूचना, शिक्षा, मनोरञ्जन र उत्प्रेरणामा मुख्य भूमिका खेल्ने गर्दछ । र, पत्रकारिताका चार कार्य सिद्धान्तको रुपमा सर्वस्वीकार्य छ ।

तर, सोसल मिडियाको विकासले पत्रकारिताको तरिका मात्र बदलिएको छैन, यसका परिभाषा र कार्यको दायरा पनि फराकिलो भएको छ । पत्रकारिताका चार कार्यबाहेक तथ्याङ्कको प्रमाणीकरण पनि अब महत्वपूर्ण कार्य सावित भएको छ ।

१. सूचनाः पत्रकार र सञ्चारमाध्यमको मुख्य काम भनेको पाठक, दर्शक र श्रोतालाई सही सूचना दिनु हो । सञ्चारमाध्यमले दैनिक हुने घटना विवरण तथा नागरिकका रुचिका विषय संकलन गर्ने, सम्पादन गर्ने र तिनलाई प्रकाशन÷प्रसारण गर्ने काम गर्दछ । पत्रकार र सञ्चारमाध्यम नागरिकप्रति उत्तरदायी हुन्छन् ।

सञ्चारमाध्यमले नागरिकलाई निरन्तर सूचना प्रवाह गर्नुपर्ने हुन्छ । आमसञ्चारका माध्यम पत्रिका, रेडियो, टेलभिजन र अनलाइनले त्यही भूमिका निर्वाह गरेका छन् । सञ्चारमाध्यमले तथ्यमा आधारित सूचना प्रवाह गर्न सके नागरिकको सुसूचित अधिकार बलियो हुन्छ ।

सञ्चारमाध्यमबाट स्वतन्त्र र निष्पक्ष सूचना प्रवाह हुने कुराले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, नागरिक अधिकार र लोकतन्त्रको स्तर निर्धारण गर्दछ । यसर्थ, सूचना प्रवाहमा पत्रकारिताको कति महत्व छ भनेर बुझ्न सकिन्छ ।

तर, सूचना प्रविधिले नागकिलाई सूचित गर्ने परम्परागत साधन फेरिएका छन् । सूचना प्रविधिले विकास गरेको सोसल मिडिया सूचना प्रवाहको वैकल्पिक साधन बनेको छ । पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन जस्ता व्यावसायिक वा औपचारिक मिडिया मात्र छैनन् ।

नागरिकको नियन्त्रणमा रहेको सोसल मिडिया सूचना प्रवाहको वैकल्पिक साधन बनेको छ । सूचना प्राप्तिका लागि मूलधारका मिडियाले सोसल मिडियामा निर्भर हुनु परेको छ । अतः पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मात्र सूचना प्रवाह गर्ने निर्विकल्प माध्यम होइनन् ।

२. शिक्षाः पत्रकारिताको दोस्रो कार्य भनेको नागरिकलाई सञ्चारमाध्यमबाट शिक्षा प्रदान गर्नु हो । सञ्चारमाध्यमले अर्थ, राजनीति, धर्म, संस्कृतिक, शिक्षा, स्वास्थ्य, ज्ञान, विज्ञान, आविष्कार, प्रविधि, सीप, विकास लगायतका विषयमा नागरिकलाई शिक्षा दिने गर्दछ । तर, आज पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मात्र रहेनन् ।

सोसल मिडिया मार्फत शिक्षा र चेतना फैलाउने कार्यमा नागरिक सक्रिय छन् । नागरिक आफैँ सन्देश तथा शिक्षामूलक सामग्रीको संकलन, प्रशोधन, उत्पादन र वितरण गर्न सक्रिय छन् । सोसल मिडियामा नागरिक शिक्षक भएका छन् ।

गुगल इन्जिन सर्च गर्दा दुनियाँका धेरै विषयको ज्ञान र जानकारी पाउन सकिन्छ । गुगल, यूट्युब जस्ता सोसल मिडिया मानिसको चेतना र शिक्षाका लागि अनिवार्य साधन बनेका छन् । सयौँ पुस्तक र पत्रिका पढेर पाउने ज्ञान गुगलमा सजिलै पाउन सकिन्छ । यूट्युबमा भिडियोसहितको शिक्षामूलक सामग्री पाइन्छ ।

इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइस भएको खण्डमा जुनसुकै ठाउँबाट संसारका विविध विषयको जानकारी तत्कालै लिन सकिन्छ । पत्रिकाले त्यो विषयमा कहिले लेख्ला, रेडियोले कहिले भन्ला र टेलिभिजनले कहिले देखाउला भन्नु पर्ने अवस्था अन्त्य भएको छ ।

पत्रकारिताबाट अनौपचारिक शिक्षा प्राप्त हुने हो । तर, जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिट, स्काइप, फेकबुकको म्यासेन्जर रुम लगायतका भिडियो एपबाट औपचारिक शिक्षा पनि लिन सकिने भएको छ ।

कोरोना महामारीको बीचमा विद्यालय र कलेज भन्द भए । विद्यार्थीको शिक्षाका लागि इन्टरनेटको प्रयोग गरी भिडियो एफको सहायतामा कक्षा सञ्चालन भए । सञ्चारमाध्यमले दिने अनौपचारिक शिक्षाको ठाउँ अब सोसल मिडियाले औपचारिक शिक्षा दिन थालेका छन् ।

पत्रकारिताबाट प्राप्त हुने अनौपचारिक शिक्षा भन्दा भिडियो एपका माध्यमबाट प्राप्त हुने प्रत्यक्ष शिक्षा निकै फलदायी भएको छ । भविष्यमा शिक्षा आर्जन गर्ने माध्यम कक्षा कोठा नभएर भिडियो एप हुने सम्भावना छ ।

३. मनोरञ्जनः पत्रकारिताको अर्को कार्य भनेको मनोरञ्जन प्रदान गर्नु हो । सञ्चारमाध्यमले कला, साहित्य, संगीत, हाँस्य, व्यङ्य, चलचित्र, नाटक लगायतका विधामा समाचार, लेख, समीक्षा, टिप्पणी प्रकाशन÷प्रसारण गरेर पाठक, स्रोता र दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

पत्रिका मात्र प्रकाशन हुने समयमा गीत, संगीत, नाटकका बारेमा लेखिन्थ्यो मात्र, तर रेडियोको आविष्कारले सुन्न सम्भव भयो । टेलिभिजनको आविष्कारले पढ्ने मात्र होइन, हेर्ने र सुन्ने काम पनि भयो । यसले मनोरञ्जनको भरपर्दो साधन बन्यो टेलिभिजन ।

चलचित्र, नाटक, सिरियल, हाँस्यव्यङ्ग जस्ता मनोरञ्जनको विधा टेलिभिजनमा निकै लोकप्रिय भए । तर, सोसल मिडियाको विकासले पत्रिका, टेलिभिजन र रेडियोबाट पाइने मनोरञ्जन सोसल मिडियबाट पाइन थालेको छ ।

टेलिभिजनमा आउने मनोरञ्जनका सामग्रीमा दर्शकको नियन्त्रण हुँदैन । तर, सोसल मिडियामा मनोरञ्जनका लागि राखिएका सामग्रीमा दर्शकको नियन्त्रण हुन्छ । आफूले चाहेको सामग्री दोहोर्याएर हेर्न, सुन्न र प्रयोग गर्न सक्छन् ।

टेलिभिजन लगायतका सञ्चारमाध्यमका सामग्री दर्शक र स्रोताले चाहेको समयमा सोसल मिडियाका माध्यमबाट हेर्न सक्छन् । तर, परम्परागत मिडियामा यो सुविधा सम्भव थिएन । कुनै समय मनोरञ्जनका लागि रेडियो र टेलिभिजन अनिवार्य साधन थिए तर अहिले सोसल मिडिया मनोरञ्जनको अनिवार्य, प्रभावकारी र लोकप्रिय साधन भएको छ ।

सोसल मिडिया प्रयोगकर्ता मनोरञ्जनका सामग्री उत्पादन, सम्पादन र प्रसारण कार्यमा संलग्न छन् । पत्रिका, रेडियो र टेलिभिजनले मनोरञ्जनका सामग्री प्रकाशन÷प्रसारण नगरे पनि विकल्पमा सोसल मिडिया स्थापित भएको छ ।

चलचित्र, कला, साहित्य क्षेत्रका कलाकार इस्टाग्राम लगायतका सोसल मिडियाको प्रयोगमा बढी सक्रिय छन् । नायक, नायिका, निर्देशक, गायक, गायिका, संगीतकारले आफ्ना भिडियो र फोटो इन्स्टाग्राममा प्रयोग गर्ने गर्दछन् ।

कुनै समय रेडियो, टेलिभिजन र पत्रिकाले आफ्ना समाचार प्रकाशन गरिदिए हुन्थ्यो भनी अपेक्षा गर्ने कलाकार आज इन्स्टाग्राम, फेसबुक, यूट्युब जस्ता सोसल मिडियाको प्रयोगमा सक्रिय छन् । चलचित्र जस्ता विधाको पब्लिसिटीमा सोसल मिडया बढी प्रभावकारी देखिएको छ ।

हिजो मिडियाको पछि दगुर्ने कलाकार आज उनीहरुका पछि मिडिया दौडिएको छ । कुनै नायिकाले केही थान तस्वीर सोसल मिडियामा प्रयोग गरे लगत्तै सयौँ मिडियामा सामाचार बन्ने गर्दछ । यस्ता तस्वीर कहिले काहीँ भाइरल हुने गर्दछ ।

इन्स्टाग्राम प्रयोग गर्ने गायक, कालाकार र संगीतकारका फलोअर पत्रकार पनि हुने गर्दछन् । कुन गायक, कालाकार र संगीतकारले कस्तो फोटो र भिडियो हाले भनेर कुर्ने पत्रकार पनि छन् उनीहरुका गतिविधि समाचार बनाउन पाइयोस भन्ने पत्रकारको मनशाय हुन्छ । गायक, कालाकार र संगीतकारका लागि होइन, मिडियाका लागि गायक, कालाकार र संगीतकार आवश्यक हुन थालेको छ ।

४. उत्प्रेणाः पत्रकारितामा उत्प्रेणाको निकै ठूलो महत्व छ । अधिकारका लागि नागरिकलाई उत्प्रेरित गर्नु, कसैले गरेका राम्रा कामको अनुसरण गर्न अरुलाई प्रेरित गर्ने कार्य पत्रकारिता र सञ्चारमाध्यमले गर्दछन् । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकारका लागि पत्रकारिताले नागकिलाई उत्प्रेरित गर्दछ । सञ्चारमाध्यमका उत्प्रेरणाले संसारका ठूल्ठूला आन्दोलन र क्रान्ति सफल भएका छन् ।

समाजमा कसैले गरेको राम्रो कार्यको सञ्चारमाध्यमले प्रकाशन प्रसारण गर्दा उ उत्प्रेरित हुने नै भए, उनको सफलताको कथा पढ्ने, सुन्ने र हेर्नेलाई पनि उत्प्रेरित गर्दछ । कानुन विपरीत कार्य वा अपराध गर्ने व्यक्तिको समाचार प्रकाशन÷प्रसारण गरेर समाजका अन्यलाई त्यस्तो कार्य नगर्न सन्देश दिने गर्दछ ।

सञ्चारमाध्यमले नागरिकका अधिकारका विषय उठान गरे राज्य र सरकारलाई सुन्न पे्ररित गर्दछ । पत्रकारिता आवाज विहीनहरुको आवाज बन्न सहयोग गर्दछ । तर, उत्प्रेणा जगाउन सञ्चारमाध्यम र पत्रकारिता मात्र निर्विकल्य माध्यम होइनन् । सोसल मिडियाले पनि प्रभावकारी ढंगले उत्प्रेरणाको कार्य गरिरहेका छन् ।

नेपाल, भारतमा हुने सोसल मिडियाका आन्दोलन मात्र होइन, अमेरिका जस्तो देशमा पनि सोसल मिडिया प्रभावकारी बनेको छ । सन् २०२० मे २५ का दिन अफ्रिकी मूलका अमेरिकी अश्वेत नागरिक जोर्ज फ्लोयइडलाई नियन्त्रणमा लिएर श्वेत प्रहरीले बीच सडकमा घाँटी थिचेर गरेको हत्याले डोनाल्ड ट्रम्पको सत्ता हल्लियो । अमेरिकमा हुने नश्लीय तथा रंगभेदका विरुद्ध लाखौँ नागरिक सडक प्रदर्शनमा ओर्लिए ।

प्रहरीले फ्लोयइडको गर्दनमा भुँडाले थिचेर गरेको हत्याको सडकका बटुवाले भिडियो लाइभ गरे । जुन तत्काल भाइरल भयो । नागरिकले त्यो भिडियो नखिचेको भए अश्वेत नागरिकमा हुने नश्लीय विभेदविरुद्धको आन्दोलन त्यति सशक्त हुने थिएन । नागरिकको त्यही भिडियो आन्दोलनका लागि उत्प्रेणाको स्रोत बन्यो ।

नश्लभेद विरुद्धको आन्दोलनले अमेरिकाको लोकतन्त्र र मानवअधिकारमाथि प्रश्न उठायो । नागरिकलाई नयाँ ढंगले सोंच्न उत्प्रेरित गर्यो । अर्थात, नागरिकमा उत्प्रेणाको कार्य अब सोसल मिडियाले पनि त्यतिकै प्रभावकारी रुपमा खेल्न सक्तछ भन्ने कुराको प्रमाण हो ।

५. प्रमाणिकरणः पत्रकार र सञ्चारमाध्यमको काम तथ्यपूर्ण सूचना प्रकाशन प्रसारण गर्नु हो । कोभाच र रोसेन्टिलले ‘पत्रकारिताको सार भन्नु नै प्रमाणीकरणको क्षेत्र हो’ भनेका छन् । (आचार्य भानुभक्त, आमसञ्चार र पत्रकातिार अध्ययनः २०७५, पुष्ठ २०१) पत्रकारिताको सिद्धान्तले प्रत्येक समाचारको तथ्य प्रमाणीकरण गर्नु अनिवार्य ठान्दथ्यो । तर, २१ औं शताब्दीको प्रारम्भसँगै विकास भएको सूचनाले सोसल मिडियाको जन्म गरायो ।

सोसल मिडिया मूलधारका मिडियाको विकल्पमा सशक्त र हस्तक्षेपकारी ढंगल आएको छ । नागरिकको नियन्त्रणमा रहेको सोसल मिडिया वैकल्पिक सूचना साधनको रुपमा स्थापित हुँदै गएको छ । यस्तो अवस्थामा फेसबुक, ट्वीटर, युट्युव, इन्स्टाग्राम जस्ता साइडमा मात्र होइन, कतिपय अनलाइन न्यूज पोर्टलमासमेत सूचनाको बाढी आउने गरेको छ ।

सोसल मिडिया प्रयोगकर्ताका बीचमा गलत तथ्यमा आधारित सूचना भाइरल हुने गर्दछ । अनेक किसिमका अफवाह फैलन गर्दछ । यस्तो अवस्थामा प्रकाशन÷प्रसारण भएका सूचना प्रमाणीकरण महत्वको विषय हुन्छ ।

नागरिकले भ्रामण, तथ्यहीन, प्रोपोगण्डायुक्त सूचना जानाजान वा अनजानमा प्रयोग गरेका हुन सक्छन् । जुनसुकै उद्देश्यले यस्ता तथ्यहीन सूचना प्रयोग गरे पनि त्यसको प्रमाणीकरण गर्ने जिम्मेवारी पत्रकार, पत्रकारिता र सञ्चारमाध्यममा आएको छ ।

नागरिकले सोसल मिडियामा प्रवाह गर्ने सूचनाको तथ्य प्रमाणीकरण र विश्वासनीयता कमजोर हुन्छ । नागरिक भन्दा भिन्न पत्रकारिताको सिद्धान्त, सीप र कौशल भएका पत्रकार, सञ्चारमाध्यमले त्यस्ता सूचनाको प्रमाणीकरण गरेर समाचार प्रकाशन÷प्रसारण गर्नु पर्ने हुन्छ ।

संसारभरको पत्रकारितामा देखिएको मुख्य चुनौती भनेकै सही सूचना दिनु मात्र होइन, भ्रामक सूचनाको चिरफार गर्नु पनि हो । भ्रामक सूचनाको तथ्यपूर्ण चिरफार निकै लोकप्रिय भएका छन् । बीबीसी हिन्दीले ‘बीबीसी पड्ताल’ कार्यक्रम चलाउँछ । भारतकै अर्को टीभी च्यानल एबीपी न्युजले ‘भाइरल सच’ कार्यक्रम चलाउँछ ।

यसमा पनि सोसल मिडियामा भाइरल भएका सूचना सामग्रीको तथ्य ठिक छ, छैन भन्ने प्रमाणीकरण गर्दछ । नेपालमा पनि केही ब्लगले यस्तो कार्य गर्ने प्रयास गरेका छन् ।

सोसल मिडियामा भाइरल भएका फोटो, भिडियो वा सूचना ठिक हो, होइन भनेर प्रमाणीकरण गर्दछ । फोटा र भिडियो ठिक हो, होइन ? कुन समयको फोटो र भिडियो हो ? सबै भन्दा पहिले कसले प्रयोग गरेको थियो ? भन्ने खोज गरी तथ्यको प्रमाणीकरण गर्ने गरिन्छ । भारतमा टेलिभिजन च्यानलले मात्र होइन, युट्युबले पनि सूचनाको तथ्य प्रमाणीकरण गर्ने गर्दछ ।

यूट्युबरले मूलधारका मिडिया खासगरी टेलिभिजन च्यानलले प्रयोग गर्ने गलत तथ्यको टिप्पणी र आलोचना गर्ने गर्दछन् । यसमा यूट्युबर ध्रुव राठीले सबैभन्दा बढी टेलिभिजन च्यानलले दिने गलत तथ्यको प्रमाणीकरण गर्दछन् । उनी यो प्रमाणीकरणका लागि निकै लोकप्रिय छन् ।

सोसल मिडियामा आएको तथ्यको प्रमाणीकरणको कार्य मूलधारका मिडियाले गर्न थालेका छन् भने व्यावसायिक÷औपचारिक मिडियाले गरेका कमजोरीको आलोचना र खबरदारी सोसल मिडियाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्