Logo

अन्तर-संघर्षको ‘गोलचक्कर’मा नेकपा



काठमाडौँ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको मुख्य नेतृत्व अन्तर पार्टी संघर्षका कारण गोलचक्करमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि सडकमा आएको हो । आन्तरिक कलहले दुई महिना पार गरेपनि नेकपाले निकास दिन नसकेर अनिर्णयको बन्दी भएको छ ।

प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको रस्साकसीले नेकपा अन्तरसंघर्षको भूमरीमा फसेको हो । स्थायी समितिको बैठक बोलाउने कि नबोलाउने लफडामा लामो समय फस्यो नेकपाको नेतृत्व ।

ठूलै दबाबपछि प्रधानमन्त्री ओली स्थायी समितिको बैठक बोलाउन सहमत त भए तर कहिल्यै नटुङ्गिने गरी बैठक चलिरहेको छ । त्यसले न कुनै निर्णय गर्छ न कुनै सहमति । नेकपा ‘न घरको न घाटको’ भन्ने अवस्थामा पुगेको छ । बैठकमा भएका चर्चाचर्की, गुटका भेला, दुई नेताबीचको सम्वाद मिडियामा छताछुल्ल भएका छन् ।

पार्टी नेतृत्व विवादले कार्यकर्ता मात्र होइन, जनतासमेत निराश भएका छन् । स्थायी समिति बैठकमा प्रचण्ड-नोपल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि पार्टी विभाजनको संघारमा पुग्यो ।

प्रधानमन्त्रीले नै पार्टी विभाजन गर्नेसम्मको धम्की दिए । उनले प्रस्टसँग भने, म प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन्न । प्रधानमन्त्रीको धम्की र दोस्रो तहका नेताको दबाबका अघि प्रचण्ड-नेपाल समूहले ओलीको राजीमाना माग गर्ने निर्णय गर्न सकका छैनन् ।

प्रधानमन्त्री ओलीको धम्की अघि पार्टीका अर्का अध्यक्ष प्रचण्ड र नेता नेपाल पछि हट्न बाध्य भए । स्थायी समिति र सचिवालय बैठकमा साजीनामा त मागिँदैछ तर त्यसलाई लिपीबद्ध गर्ने क्षमता प्रचण्ड नेपाल समूहले राख्न सकेका छैनन् । प्रधानमन्त्री ओलीले स्वेच्छाले राजीनामा नदिने प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले एक पटक बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ललिपप देखाए । नेता गौतम ओली तिरै लागे । गौतम पुनः प्रचण्ड-नेपाल तिर लागे । पार्टीका संरचना स्थायी गुटमा रुपान्तरण भएका छन् । कुनै निकासका लागि छलफल र बहस भन्दा आफ्नो अडानमा टसकोमस नहुँदा नेकपा अनिर्णयको बन्दी भएको हो ।

प्रधानमन्त्री ओलीले अहिले मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । नेतृत्व परिवर्तन गर्ने हो भने महाधिवेशनबाट र प्रधानमन्त्री परिवर्तन गर्ने हो भने अर्को निर्वाचनबाट भन्ने प्रस्ट धारणा ओलीले राखेका छन् । तर, ओलीको महाधिवेशको प्रस्तावमा प्रचण्ड-नेपाल तयार हुन सकेका छैनन् । पार्टी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने ओलीको प्रस्ताव सही छ । तर, प्रचण्ड-नेपाल समूह यसमा सशंकित छन् ।

पार्टी एकता प्रक्रिया पूरा भइनसकेको, पार्टी विचार र कार्यक्रम टुङ्गो नलागेको, सदस्यता समायोजन नभएको, जनवर्गीय संगठनका एकता र सम्मेलन नभएको अवस्थामा पार्टी महाधिवेशन कसरी सम्भव हुन्छ भन्ने प्रश्न गरेका छन् । त्यसमा प्रधानमन्त्री ओली मंसिरमा महाधिवेशन गर्न गर्नु पर्ने माथिका कार्य सम्पन्न गर्न तत्काल तयार होलान् ? भन्ने संशय उत्पन्न भएको छ । ओलीको महाधिवेशन प्रस्ताव पद त्यागबाट जोगिने एजेण्डा भएको प्रचण्ड-नेपाल समूहको बुझाइ छ ।

पार्टी एकता भयो तर एकताको मर्म र भावना अनुसार अघि बढेन । न पार्टी राम्ररी चल्न सकेको छ । न सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेको छ । सरकारको सर्वत्र आलोचना छ । अहिलेको अवस्था पार्टीले सरकार होइन, सरकारले पार्टी चलाएको मात्र होइन, हल्लाएको छ ।

पार्टी भित्रको झगडामा राष्ट्रपति विद्या भण्डारी प्रत्यक्ष रुपमा जोडिएकी छन् । उनको हस्तक्षेप र सक्रियताले राष्ट्रपतिको संवैधानिक मर्यादाको खिल्ली उँडेको छ । नेकपा अहिले ‘ न मरी जानु, न गरी खानु ’  भन्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्