Logo

नेपाल एकीकरणको इतिहासः लिम्बुवानले पाएको ताम्रपत्र र निशान नचाउने मेला स्थगित



फायल तस्बिरः बिगतको निशान मेला

पाँचथर, ९ कात्तिक । याङ्वरकमा वर्षेनी महानवमीका दिन नचाइने निशान यस वर्ष कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण नचाइएन । नेपाल एकीकरणका क्रममा तत्कालीन लिम्बुवान पक्षले पाएका ताम्रपत्र र दुई निशान याङ्वरक–४ स्थित कालिकाधाममा नचाउने गरिएको थियो ।

कोभिड–१९ को महामारीका कारण इतिहासमै पहिलो पटक निशान नचाउने काम स्थगन भएको निशान मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष शहरनन्द योङ्हाङले बताए ।

निशान नचाउने कार्यक्रम राखिए ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने र सङ्क्रमण फैलन त्रास रहने भएकाले निशान नचाउने मेला स्थगन गरिएको जनाइएको छ । यस वर्ष मेला स्थगन भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निशानसहितका हातहतियार र कालिकाधाममा पूजार्चना भने गरिएको छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा र लिम्बुवान फौजबीच कयौँ पटकका लडाइँमा हारजीत हुन नसकेपछि दुई पक्षबीच सम्झौता हुँदा लिम्बुवान पक्षले पाएको ताम्रपत्र र निशान नचाउने गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको त्रासले करीब अढाइ सय वर्षपछि पहिलो पटक निशान नचाउने क्रम यस वर्ष रोकिएको अध्यक्ष योङ्हाङले जानकारी दिए ।

एकीकरणका क्रममा लडाइँमा गोरखा फौजले प्रयोग गरेका हातहतियारसहितका दुई निशान प्रत्येक वर्ष महानवमीका दिन याङ्वरक–४ स्थित कालिकाधाममा प्रदर्शन गर्ने तथा पशु बलि दिने गरिएको थियो ।

युद्धकै शैलीमा पुराना हातहतियारसहित नचाइने निशान हेर्न देशविदेशबाट समेत दर्शनार्थी आउँथे । कालिकाधाम र सँगै रहेको याङ्वरक (पैसाको पोखरी) दर्शनले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

फायल तस्बिरः मेलामा हतियार

श्रीजङ्ग र श्रीकम्फू निशान प्रदर्शन हेर्न पाँचथरसहित पूर्वका ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, झापालगायत जिल्लाबाट तथा भारतका सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष योङ्हाङले वताए ।

विगतमा नवरात्र शुरु भएसँगै घटस्थापनाका दिनदेखि यहाँ पूजाार्चना हुन्थ्यो । यस वर्ष भने त्यस्तो हर्षोल्लास नदेखिएको स्थानीयवासीले बताएका छन् । निशान र हातहतियार विसं १८३१ देखि केही समय पाँचथरको याङ्वरकमै राखिएकामा विसं १८८० देखि श्रीकम्फू र विसं १९१२ देखि श्रीजङ्ग निशानसहितका हतियार प्रदर्शन गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्