Logo

झापामा चिनियाँ नागरिकलाई नागरिकता दिनेको पोल खुल्दै



झापा, १३ पुस । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी चिनियाँ नागरिकलाई कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फर्जी नागकिता दिने कार्यमा संलग्न इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर तीन जना चिनियाँ नागरिकले राई थरबाट नागकिता लिएको बताइएको छ । अमृत राई ०४–०६–७७–००५९१ नम्बर, दीपिका राई ०४–०६–७७–००५९२ नम्बर र विशाल राईका नामबाट ०४–०६–७७–००५९३ नम्बरको नेपाली नागरिकता दिइएको थियो ।

नागरिकता बनाएको एक सता नभई राहादानीका लागि विभागमा आवेदन गरेका थिए । गएको कात्तिक २७ गते नागरिकता लिएका तीनै जनाले मंसिर ४ गते राहदानीका लागि विभागमा आवेदन गरेका थिए । नेपाली भाषा बोल्न नजानेपछि विभागले शंका लागि इलाका प्रशासन कार्यालय गौरिगञ्जलाई नागरिकताको बिवरण माग गर्दा नक्कली नागरिकताको पोल खुलेको हो ।

विभागले सोधपुछ पछि कर्मचारीले कम्प्युटरबाट बिवरण हटाएर अरुनै व्यक्तिलाई त्यही नम्बरको नागरिकता दिएका थिए । कम्प्युटरको सर्भरबाट बिवरण डिलिट नभएकाले कर्मचारी संलग्नता देखिन सक्ने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

भारतीय मूलका नेपाली भाषी हुँदा भाषामा समस्या हुँदैनथ्यो । तर, भाषामै समस्या भएकाले चिनियाँ नागरिक भएको शंक गरिएको छ ।

तीनवटै नागरिकताको अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । उनले भने, “नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको हुनसक्ने भएकाले कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।”

प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि उक्त विवरण ‘इडिट’ (सच्याएर) गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उनले बताए ।

साह, आलम र तिम्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

झापामा यस अघि तिब्बतियन मूलका चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापा, गाउँपालिका कर्मचारी र दुई जना वडा अध्यक्ष बिरुद्ध मुद्दा चलिरहेको छ । तीन जना कर्मचारी जिल्ला कारागार चन्द्रगढीमा थुनिएका छन् । बिर्तामोड र भद्रपुर नगरपालिकाका एक एक जना वडा अध्यक्ष र गाउँपालिकाका एक जना कर्मचारी फरार रहेका छन् । तिब्बतीयनले शेर्षा थर लेखाएर नागरिकता लिएका थिए । उनीहरु तिब्बतीयन शरणार्थी भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्