Logo
  बैशाख ७, २०८१ शुक्रबार

जातीय छुवाछुतबिरुद्ध बोल्न किन हिच्किचाउनु ?



जातीय छुवाछुतबिरुद्ध बोल्न किन हिच्किचाउनु ?आफ्नो धारणा के हो प्रष्ट राख्न नसक्ने अनि बीचमा बसेर चोखिन खोज्ने धेरै देखियो । म त स्पष्ट भन्छु छुवाछुत म मान्दिनँ, मान्नु पनि हुँदैन । जातीय भेदभाव मात्रै होइन भेदभाव कुनै पनि आधारमा गर्नु पनि हुँदैन र सहनु पनि हुँदैन भन्नेमा निर्धक्क छु । समानता, समावेशीको पक्षमा सँधै नै बोलेको छु, कार्यान्वयन गरेको छु ।

२०६३ सालमा छुवाछुतमुक्त देश भनेर घोषणा भएको छ । यो धेरै भएको छैन । यो हेर्दा २०६३ सालभन्दा अगाडि देशमा छुवाछुत प्रथा थियो र अहिले छैन भन्ने यो तथ्यांकले बोल्छ । तर, के यथार्थ त्यही हो त ? ०६३ सालभन्दा पहिले पनि त्यो वर्ग थियो ,जसले छुवाछुत मान्दैन थियो र आज त झन् अधिकांश नै छन् । अनि त्यही ०६३ सालभन्दा पहिले छुवाछुत मान्ने पनि थिए र अहिले पनि छन् । विभिन्न ठाउँमा छुवाछुतको प्रथा कायमै छ ।

छुवाछुतको मुद्दा उठाएर आफ्नो दुनो सोझ्याउनेहरु धेरै छन् । असली पीडित सँधै पीडित छ तर, त्यही वर्गभित्रको पनि शोषक छ जसले पीडितलाई पीडितमै रहन बाध्य बनाउँछ । जातीय भेदभाव मान्दैनौ भन्ने एउटा कामीले दमाईलाई तल्लो जातको दर्जा दिन्छ । अनि त्यही दमाईले सार्कीलाई तल्लो जातको बिल्ला भिडाएको छ । दलित भनेर वर्गीकरण गरिएको जातहरुभित्र नै यसरी भेदभाव छ । के तिमीहरुले त्यो भेदभाव मेटाएका छौ त ? आज ९० वर्ष पुगेको एउटा बाहुन हजुरबुवाले कामीले छोएको नखाला । तर, उसको छोराले त तिमीसँग बसेर खाएको छ नि ? बाहुनले दमाई, कामी, सार्की, राई, मगर बिहे गरेको त देखेकै छौँ, सुनेकै छौँ ।

बुजु्रक उमेर भएकामा त्यो मानसिकता छ । उनीहरुबाट त्यो मानसिकता हटाउन सकिदैन तर, परिवर्तन त देखेका छन् उनीहरुले पनि र परिवर्तनलाई स्वीकारेका पनि छन् । अनि अर्को मैले नै समाजमा देखेको कुरा यदि कुनै कर्मकाण्ड गर्ने बाहुनले जातको भेदभाव नगरी हिँडेको छ, खाएको छ भने त्यही दलित समुदायबाट उसको कुरा काट्न सुरु हुन्छ । यो मैले मेरै समाजमा देखेको कुरा हो । यसलाई म नकार्न सक्दिनँ । आखिर किन तिमीमा त्यो मानसिकता आयो त । तिमी त झन् खुशी हुुनु पर्ने हो । तर तिमीले त उसलाई निरुत्साहित ग¥यौं । त्यसैले भेदभावविरुद्ध बोल्दा खाली बोल्नकै लागि र क्षणिक फाइदाको लागि नबोल । आफूदेखि कार्यान्वयन गर ।

त्यो बाहुनको छोरोले लगाएको जनैको किन तिमी खिल्ली उडाउँछौ ? जबसम्म बाहुनले लगाएको जनैको तिमीले सम्मान गर्दैनौं , तबसम्म त्यो बाहुनले तिमीलाई कुन आधारमा सम्मान गर्छ । ताली बज्न त दुई हात नै चाहिन्छ नि ! त्यसैले कमजोरी तिमीमा पनि छ ममा पनि छ । तिमीले आफूलाई सुधार म आफूलाई सुधार्छु । तिमी मलाई सघाउँ म तिमीलाई सघाउँछु । म मेरै बाबुको जुठो खादिनँ भने तिम्रो जुठो खानै पर्छ भन्ने मलाई कर छैन । त्यो व्यक्तिको नितान्त व्यक्तिगत अधिकार हो । सबै जात, वर्ग, लिङ्ग समान हुन् । त्यो तिमीले पनि बुझ्नु पर्छ मैले पनि बुझ्नु पर्छ ।

कोटामा तिमीले जागिर खाएको आरिस गरेको होइन । सायद यदि कोटा सिस्टम थिएन भने समानता आउन असम्भव हुन्थ्यो होला । कोटा सिस्टम खारेज हुुनुपर्छ म भन्दै भन्दिनँ । कोटा सिस्टम त अझै थपिनु पर्छ र यो व्यवस्थित हुनु पर्छ । जातको आधारमा हिजो भेदभाव थियो र जातले कोटा पायो । तर, वर्गको आधारमा त हिजो पनि विभेद थियो, आज पनि विभेद छ । खोई त ! उसलाई कोटा ? हो यस्तो छेन्द्राहरु पुर्दै कोटा सिस्टमलाई पनि व्यवस्थित बलियो बनाउन सक्नु पर्छ । यो हामी सबैको दायित्व हो, कर्तव्य हो ।

सार्वजनिक स्थलमा कसैले छुवाछुत, विभेद गर्छ भने त्यो गलत हो । तर व्यक्तिको आफ्नो निजी अधिकार पनि त सुनिश्चित हुनु प¥यो नि । छुवाछुत कसैले गर्छ भने उसलाई कानुन अनुसार कडाभन्दा कडा कारबाही हुनै पर्छ । तर, त्यसो भएको छ त ? त्यहाँ न्याय दिने ठाउँमा पनि जातीय भेदभाव हटिसक्यो तर धनको विभेद, पहुँचको विभेद कायमै छ नि । धनीले सजाय पाउँदैन, गरिबले अवश्य पाउँछ । त्यसैले सबै मिलेर यो जात, वर्ग, रङ, भूगोल, कुनै पनि आधारमा हुने विभेद र अन्यायविरुद्ध बोल्नु पर्छ । तर, बोल्नकै लागि बोल्ने होइन, त्यसैलाई मुद्दा बनाएर व्यक्तिगत फाइदा उठाउन होइन । समाजको उत्थान, विकास र समृद्धिका लागि बोलौँ ।

प्रतिक्रिया दिनुहोस्