Logo
  चैत्र १६, २०८० शुक्रबार

उनले भनिन्, ‘मैले श्रीमानको मृत्युमा किरिया गरिन’



‘मैले मेरा श्रीमानको मृत्यु पश्चात काजकिरिया गरिन ।’ मसँगै गाडीमा यात्रा गर्दै गरेकी एक महिलाले भनिन् । यो शब्द सुन्ने बित्तिकै मेरो मनमा कता कता चिसो पस्यो । उनले भावुक हुँदै भनिन्, ‘मैले छोराछोरीलाई समेत बाबुको कर्म गर्न दिइन ।’ मलाई अचम्म लाग्यो अनि कौतुहलता पनि बढ्यो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले उनको परिवारलाई गाँजेको रहेछ । एति मात्र होइन, परिवार भित्रकै पाँच जना सदस्यको कोरोना संक्रमणबाट मृत्यु भएको रहेछ । अझ काहाली लाग्दो कुरा त के रहेछ भने आमाको मृत्यु पश्यात काजकिरिया गर्ने क्रममा छोरा (उनको श्रीमान्)को मृत्यु भएको रहेछ । हिन्दू परम्परा अनुसार मानिसको मृत्यु पछि १३ दिनसम्म नून् नखाई, एक छाक खाना खाएर, आङ्ग छोप्ने सेतो कपडामा कोरा भित्र झोक्रिएर बस्ने परम्परा छ । र, त्यही परम्पराले मान्दा आफूले श्रीमान गुमाउनु परेको बताइन् ।

उनले गहभरी आशु पार्दै भनिन्, “हिन्दू धर्म अझ धर्म मान्ने मान्छेले नै मेरो श्रीमानलाई मारे, अहिले काजकिरिया नगर्ने, कोरोना निको भएपछि गर्ने भन्दा पनि दिएनन्, पोसिलो खानेकुराको अभाब र चिसोले गर्दा मेरो श्रीमानको ज्यान गयो ।” उनले थपिन “मर्ने त मर्यो मर्यो, बाच्ने त तेसै मर्नु भएन नि ? त्यसैले मैले र मेरा छोराछोरीले श्रीमानको मृत्यु लगत्तै कायकिरिया गरेनौँ, हामिले कोरोना निको भएपछि मात्र गर्यौ । ”

एति सुने पछि म निशब्द भए । मनमा धेरै प्रश्न उब्जिए तर उनको त्यो पिडामाथि अझ प्रश्न तेर्साएर पिडा थप्न मन लागेन । उनी मेरा लागि अञ्जान थिइन् । उनको गन्तब्य आइपुगेकाले गाडीबाट ओर्लिन् । तर, धेरै बेरसम्म उनले बोलेका एक एक शब्द दिमागमा खेलिरहे । कोरोनाले गर्दा मानिसका धेरै कुरामा परिवर्तन आयो । अब बिस्तारै–बिस्तारै धर्म संस्कृतीमा पनि परिवर्तन आउने रहेछ भन्ने लाग्यो ।

मानिसको ज्यान भन्दा त धर्म संस्कृति ठूलो होइन नि ? भन्ने पनि लाग्यो । अनि मानिस रहे मात्र त ती धर्म संस्कृति रहन्छन भन्ने तर्कले मेरो मन जेलियो । कोरोना संक्रमणको पिडा, आइसोलेसनमा रहँदा अन्य मानिसले दूर–दूर गरेको पिडा, कोरोनाकै कारण आफन्त गुमाउनुको पिडा, अझ त्यसमाथि हिन्दू परम्परा अनुसार १३ दिनसम्म जुठो बार्दा मानिसको ज्यान जानु स्वभाभिक नै थियो । अस्वस्थ्यताका बाबजुत धर्म संस्कृती लाद्नु उचित हो र ?

केही दिन पछि मेरो छिमेकिको कोरोनाकै कारण मृत्यु भयो । त्यस घरका सम्पुर्ण परिवारलाई नै कोरोना पोजेटिभ देखियो । मृत्युपछि दाहासंस्कार केही आफन्तका बिच नेपाली सेनाले गर्यो । अब कुरा आयो काजकिरियाको । त्यो परिवारले आठौं दिनसम्म केहि नगर्ने नवौं दिनदेखि १२ औं दिनसम्म तीन दिन हिन्दू परम्परा अनुसार नै कर्म गर्ने निर्णय गर्यो । र, सोही बमोजिम काम पनि सकियो ।

यस भन्दा अघि तीन या सात दिन मात्र काजकिरिया गर्ने परिवारलाई सामाजिक बहिस्कार गरेको घटना धेरै सुनेको थिए । तर, अहिले भने मानिसलाई खुम्चिन बाध्य बनायो कोरोना भाइरसले । कोरोनाकै कारण हिन्दू परम्परा पनि परिमार्जित हुदैछ भन्ने आभास भयो मलाई ।

कोरोना भाइरसले मानिसको जिवनशैली धेरै नै परिवर्तन गरेको छ । नेपालमा हाल कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । पहिलो लहरले मानिसलाई बिलासी र शहरे जीवन भन्दा गाउँले जीवन ठिक रहेछ भन्ने सिकायो । मानिस भन्दा प्रकृति सर्बश्रेष्ठ हो भन्ने चेतना दियो । अब दोस्रो लहरले आत्मानिर्भर हुन सिकाउँदै छ । अनावश्यक कुरालाई बढी प्राथमिकता दिँदै रहेछौ भन्ने पाठ सिकाउँदै छ । तर, कतिपयले मानवता तथा आत्मियता हराउँदै छ भन्ने तर्कपनि गर्छन् ।

आगामी दिनमा कोरोनाको कस्तो रुप आउने हो भनेर अहिल्यै आकलन गर्न सक्ने अवस्था छैन । वर्तमान समयसम्म आएको परिवर्तनलाई पनि पहिले कसैले आकलन लगाउँन सकेको थिएन । कोरोनाले पुराना कुरालाई बिस्थापित गर्दै लैजाँदै गर्दा नँया कुराहरुलाई पनि स्थापित गर्दै लैजाँदैछ । पहिले गाँउ गाँउमा सूचना प्रविधिका साधन पुगेको थिएन । आवश्यकता पनि महशुस गरेका थिएनन् । अहिले सबै तिर प्रविधिको आवश्यकता महशुस भएको छ ।

बिस्तारै गाउँ गाउँमा सूचना प्रविधिको बिस्तार हुँदैछ । पहिले मोबाइल बोक्नु सपना भन्दा पनि परको कुरा सोच्नेहरुले अब अनलाइनबाट पढ्न सुरु गरिसकेका छन् । घर बसेर नै नँया कुरा इन्टरनेटबाट सिकेर व्यवहारमा लागू गर्न थालिसकेका छन् । यो पिडादायिक कोरोनाले ल्याएको सकारात्मक पक्ष हो ।

कोरोनाले नेपाल लगायत विश्वभरका धेरै मानिसको ज्यान लिसकेको छ । अझै अब कतिको ज्यान जाने हो टुङ्गो छैन । यो रोगलाई निर्मुल पार्नका लागि यश विरुद्धको खोप खोज्न विश्वका बैज्ञानिक, बैध्य सबै लागि परेका छन । धेरै देशमा कोरोना विरुद्धको खोप आविस्कार भइसकेको छ । नेपाललाई पनि अनुदानमा धेरै खोप उपलब्ध भएको छ ।

कोरोना विरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार बृद्धबृद्धा लगायत धेरै मानिसले खोप लगाइसकेका छन् । मानिस कोरोनासँग संघर्ष पनि गर्दै छ, आफूलाई पनि बदल्दै लगेको छ । कोरोनाको कतिले अन्त्य हुन्छ कुनै टुंगो छैन । कोरोनाले ल्याएका सकारात्मक र नकारात्मक पक्षलाई स्वीकार गर्नुको विकल्प पनि छैन ।

प्रतिक्रिया दिनुहोस्