Logo

सीपीको जस्तै होला त माधव नेपालको यात्रा ?



नेकपा एमाले अन्ततः विभाजित भएको छ । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले–समाजवादी) नामको पार्टी दर्ताका लागि निवेदन दिएका छन् । सरकारले अध्यादेशमार्फत् संशोधन गरेको निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रपतिबाट लालमोहर लागे लगत्तै नेपाल समूह पार्टी दर्ताको निवेदन बोकेर निर्वाचन आयोग पुग्यो । नेपालको यो कदमले एमाले अध्यक्ष ओलीसँगको सहकार्य समाप्त भएको संकेत गर्दछ ।

माधव नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रियामा गएपछि फरक फरक टिप्पणी आएका छन् । एमाले अब समाप्त हुने, एमालेलाई केही फरक नपर्ने, कम्युनिष्ट आन्दोलन समाप्त हुने, नयाँ विचारका साथ माधव नेपालको नेतृत्वमा कम्युनिष्ट आन्दोलन ध्रुवीकरण हुने, कसैले माधव नेपाल अर्को सिपी मैनाली हुने जस्ता टिप्पणी गरेका छन् । कुनै बेलाका तिलश्मी नेता सीपी मैनाली अहिले गुमनाम छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा माले र त्यसको प्रभावशाली व्यक्तित्व सीपीको पछिल्लो अवस्थामा माधव नेपाल पुग्ने टिप्पणी हुन थालेको छ । यस आलेखमा माधव नेपाल दोस्रो सीपी मैनाली हुने यात्रामा अघि बढेको विषयमा केन्द्रित भएर विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

१. आफ्नैले साथ दिएनन्ः माधव नेपालले तेस्रो तहका नेताको साथ लिएर नयाँ पार्टी दर्ता गरेका छन् । उनी पछिका दोस्रो तहका पदाधिकारी र स्थायी समिति सदस्यले साथ दिएनन् । नेपाल निकट मानिएका वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली, भीम आचार्य, रघु पन्त लगायतका नेताले साथ छाडेका छन् । अष्टलक्ष्मी शाक्य पार्टी विभाजनकै दिन बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छन् ।

दोस्रो तहको साथ नपाएका नेता नेपालले तेस्रो तहका नेताको बलमा पार्टी दर्ताको प्रक्रिया अघि बढाएका छन् । नेपालको एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम भएका कतिपय केन्द्रीय सदस्यले आफू संलग्न नभएको प्रतिक्रिया दिएका छन् । यसले आफ्नै समूहका तेस्रो पुस्ताका सबैले साथ दिने सम्भावना कम देखिएको छ ।

२. भुसाल फ्याक्टरः दोस्रो पुस्ताका प्रभावशाली नेता घनश्याम भुसालले एमालेको एकता जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने बताउँदै आएका छन् । उनको भूमिका पनि त्यही अनुसार देखिएको छ । उनले यस अघि विभाजनमा आफ्नो साथ हुने नहुने प्रस्ट नपारे पनि विभाजित भएर अघि बढ्न नसकिने प्रतिक्रिया दिँदै आएका थिए ।

भुसालले आफ्ना निकटसँग भन्ने गर्दथे,‘सकिनु नै पर्ने हो भने कलंकको टीका लगाएर सकिनुभन्दा एमालेमै बसेर ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने र त्यहीँ सकिने’ । अर्थात,पार्टी विभाजनको कलंक बोकेर नसकिने पक्षमा भुसाल छन् ।

उनको विचारमा अन्य नेताहरु सहमत भएकाले दोस्रो तहका नेता नेपालको पक्षमा लागेनन् । भुसालको दृष्टिकोणले नेपाल समूह प्रभावित भएको छ । तर, भुसाल अहिले पनि पार्टी एकताका लागि सक्रिय रहेका छन् । उनले नेपाल समूह पार्टी दर्ताका लागि निर्वाचन आयोग जाँदै गर्दा अध्यक्ष केपी ओलीसँग भेट गरे तर एकता आधार तयार भएन ।

३. एजेण्डाः पार्टी सञ्चालन गर्न एजेण्डा चाहिन्छ ।एमाले समाजवादीले नाम समाजवादी राखेपनित्यसकाएजेण्डा के हुन् भन्ने टुङ्गो लागेको छैन । नेपाल समूहसँग नयाँ वैचारिक एजेण्डाको आधार पनि देखिँदैन । ओलीले गरेको प्रतिगमनकारी कदमको विरोध वैचारिक एजेण्डा हुन सक्तैन । ओलीको प्रतिगमन सर्वोच्च अदालत र उनी विरोधी सडक आन्दोलनबाट सच्चिएको छ ।

नागरिकले ओलीले लोकतन्त्र र संविधानविरुद्ध गरेको हर्कतको हिसाबकिताब निर्वाचनबाट लेलान् । तर, ओली प्रवृत्तिको विरोधलाई विचार भन्न सकिँदैन । विचार बिनाको कम्युनिष्ट पार्टी अघि बढ्नै सक्तैन । त्यसमा पनि जनताको बहुदलीय जनवादलाई पार्टी विचार बनाउने हो, पार्टीको नाम पनि एउटै राख्ने हो भने दुई वटा एमाले किन चाहियो ?भन्ने प्रश्न उठ्छ । यसको जवाफ नेपाल समूहले सजिलै नि सक्तैनन् ।

४. कमजोर संगठनः नेकपा बन्नुभन्दा अघिसम्म एमाले राम्रो सांगठानिक संरचना भएको पार्टी थियो । एमालेमागुटको गहिरो प्रभाव थियो । टोलका पार्टी सदस्य पनि गुटबाट संरक्षित र प्रशिक्षित थिए । तरपनि एमाले बलियो पार्टी थियो । गुटलाई पार्टीमा हुने निर्वाचनले व्यवस्थित बनाएको थियो । गुटहरुबीच प्रतिस्पर्धा हुन्थ्यो ।

विचारको प्रतिस्पर्धाभएको भए एमाले कम्युनिष्ट पार्टी हुन्थ्यो, तर, गुटको प्रतिस्पर्धा हुने भएकाले एमाले नामधारी कम्युनिष्ट पार्टी थियो र छ । जे भएपनि निर्वाचनले गुट व्यवस्थापन र एमालेलाई सक्रिय बनाएको थियो । गुटले एमालेलाई जीवन्त बनाएको थियो । नेपाल समूह अलग हुँदा त्यो संरचना पुरै भत्किएको पनि देखिँदैन र सम्भावना पनि छैन । नेपालको विचार समूहका धेरै कार्यकर्ता अब ओली समूहका हुने भएका छन् ।

एमाले समाजवादीमा सहरी कार्यकर्ताको केही सहभागिता देखिएपनि ग्रामीण क्षेत्रमा न्युन प्रभाव देखिएको छ । गाउँको कार्यकर्ता पङ्क्ति अलिक बढी स्थिर छ । दोस्रो तहका नेताको साथ नहुँदा त्यसको पनि प्रभाव पर्ने निश्चित छ । ओलीले भन्दै आएको ‘रुखका पात झरे जस्तै’ हुने प्रबल सम्भावना छ ।

५. सिपी मैनाली पथमाः पार्टी निर्माण हुन नीति, नेतृत्व, संगठन र वस्तुगत परिस्थिति आवश्यक हुन्छ । तर, नेपाल समूहसँग अहिले ओली प्रवृत्ति विरोधी वस्तुगत परिस्थिति भएपनि नीति, नेतृत्व, संगठन कमजोर छ । यसले माधव नेपाल अन्ततः सीपी मैनालीको पथमा हिँड्न पर्ने अवस्था आउने धेरै विश्लेषण छ । र, तथ्यले पनि त्यही संकेत गर्दछ ।

२०५४ सालमा भारतसँगको महाकाली सन्धिको विषयमा एमाले विभाजित हुँदावामदेव गौतम र सीपी मैनालीको नेतृत्वमा माले जन्मियो । २०५६ सालको निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । र, राष्ट्रिय पार्टीपनि भएन । राष्ट्रिय पार्टी पनि नहुने र अनुमान गरेभन्दा धेरै कमजोर भएपछि वामदेव गौतम समूह एमालेमा मिसियो भने सीपी मैनालीको समूहले मालेलाई निरन्तरता दियो ।

वामदेव त एमालेमा पुनः नेता भए । तर, सीपी ओरालो लाग्दै–लाग्दै अहिले सानो कोटरीमा सीमित भएका छन् । पञ्चायतकालको मालेका संस्थापन हुन् सीपी मैनाली । पञ्चायतकालमा नख्खु जेल ब्रेक र भूमिगत सीपीका बारेमा सुनिने तिलश्मी किस्सा आश्चर्यलाग्दा हुन्थे । २०४६ सालमा माले खुला हुँदा पनि सीपी निकै पछि मात्र खुला भए । उनलाई हेर्ने र उनका कुरा सुन्नमा ठूलै आकर्षण थियो । एउटा प्रभाव थियो । निष्ठा र संघर्षका प्रतीक थिए सीपी ।

२०३९ सालमा पार्टीमा वैचारिक संघर्ष हुँदादेखिको उनीसँग विचार समूह थियो । २०४९ सालमा एमाले महाधिवेशमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद र सीपीले परिमार्जित नौलो जनवादको दस्तावेज ल्याएका थिए । मदन भण्डारीको प्रभावशाली व्यक्तित्व भएपनि सीपीको जस्तो संघर्षको इतिहास थिएन । त्यसमावामदेव गौतम स्वयम बहुदलीय जनवादका आफूलाई हिमायती ठान्दथे । उनको पनि महाकाली सन्धिकाविरोधी पक्षधर ठूलै कार्यकर्ताको पङ्क्ति थियो ।

२०५४ सालमा पार्टी विभाजन हुँदा कार्यकर्ताको विशाल समूह मालेमा लाग्यो तर निर्वाचन परिणाममा जनताले साथ दिएनन् ।वामदेव एमालेमा फर्किए भने सीपीले मालेलाई निरन्तरता दिए । कयौं कार्यकर्ता निस्क्रिय भए भने कयौँ कार्यकर्ता माओवादीमा लागे । सीपी र उनको नेकपा माले वैचारिक, नेतृत्व, सांगठन र राजनीतिक रुपमा पनि अत्यन्तै कमजोर अवस्थामा छ ।

माधव नेपालले एमाले समाजवादीलाईठूलो पार्टी त्यति सजिलै बनाउन सक्ने सम्भावना छैन । कांग्रेस, माओवादी लगायतसँगको ताममेलमा एउटा निर्वाचनमा पार्टी त होला, तर एमालेलाई जत्ने गरी ठूलो पार्टी हुने सम्भावना कम छ । नेता नेपालसँग एमाले समाजवादी, प्रचण्डको माओवाद केन्द्र, उपेन्द्र यादवको जसपा लगायतसँग पार्टी एकताको सम्भावना पनि छ । यस्ता विकल्प तयार भए पार्टीको आधार तयार होला, अन्यथा माधव नेपाल र एमाले समाजवादीको भविष्य सीपी मैनाली र उनको माले जस्तो नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्