Logo

एमसिसीको विषयमा माओवादीको निर्णयले देश दुर्घटनाबाट जोगायोः प्रचण्ड



सुर्खेत, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका विषयमा निर्णय गरेर माओवादीले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसिसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको बताए । उनले भने, “हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसिसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।”

अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्मा अझै परसम्मा लैजाने योजनासमेत रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए । उनले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताए ।

प्रचण्डले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताए । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरे । “कर्णाली भनेको माओवादीको आधार इलाका हो”, उनले भने, “तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।”

प्रतिक्रिया दिनुहोस्