Logo

विद्युतीय कारोबार भुक्तानीमा वृद्धि



काठमाडौँ, २८ फागुन । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ ।

दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरूपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरूपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म रु छ अर्ब ८९ करोड २० लाख बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी रु छ अर्ब ५२ करोड ५० लाख बराबर थियो ।

त्यस्तै भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म रु दुई खर्ब ३६ अर्ब ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने रु दुई खर्ब ४७ अर्ब ४७ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।

यसैगरी वालेटमार्फत गत पुस मसान्तसम्म रु १६ अर्ब २७ करोड ६० लाख बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने रु १४ अर्ब ५३ करोड ४० लाख बराबरको भुक्तानी भएको छ । विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशिल छन् ।

नेपाल राष्ट्र बैंकले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ । विद्युतीय भुक्तानीका लागि आरजीटीएस, आएपीएस, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र पीओएसलगायतका सुविधा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्