Logo

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी



काठमाडौँ, २९ फागुन । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै लिभरपुलले ब्राइटनलाई २–० ले हराउँदै उपाधि होडमा शीर्ष क्लब म्यानचेस्टर सिटीमथि दबाब कायम राखेको छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिएको म्यानचेस्टर सिटीका प्रशिक्षक राल्फ राङ्कनिकलाई रोनाल्डोले राहात दिए । फ्रेडको पासमा रोनाल्डोले गरेको गोलबाट युनाइटेडले १२ औं मिनेटमा अग्रता लिएको थियो । टोटनहमका ह्यारी केनले ३५औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काए ।

त्यसको तीन वित्न नपाउँदै ३७ वर्षे रोनाल्डोले जाडोन सान्चोको पासमा गरेको गोलबाट युनाइटेडले पुनः अग्रता लियो । ७२औं मिनटमा युनाइटेडका रक्षक ह्यारी म्याग्गुएरले गरेको आत्मघाती गोलबाट टोटनहमले बराबरी गर्यो । खेल सकिन ९ मिनेट बाँकी हुँदा रोनाल्डोले अर्को गोल ह्याट्रिक गरेसँग युनाइटेडले तीन अंक पक्का गर्यो ।

रोनाल्डोको यो ५९औं ह्याट्रिक हो । रोनाल्डोले करिअरले ८०७ गोल गरिसकेका छन् । जुन व्यावसायिक फुटबलमा सबभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि रोनाल्डोको नाममा रह्यो । फिफासँग आधिकारिक रेकर्ड नभए पनि जोसेफ बिकानले १९३१ देखी ५५ सम्म गरेको ८०५ गोल नै सबभन्दा धेरै मानिएको थियो ।

तथापि, चेक गणतन्त्र फुटबल संघले बिकानले ८२१ गोल गरेको दाबी छ । ब्राजिलका पेले र रोमारियोले पनि १ हजारभन्दा धेरै गोल गरेका छन् । तर, त्यसमा एमेच्योर फुटबल तथा अनअफिसिल र मैत्रीपूर्ण खेल पनि समावेश छ ।

जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलबाट ५० अंक जोडेको छ । जुन तेस्रो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडि हो । चेल्सीले २७ खेलमात्र खेलेको छ । पाँचौं स्थानको आर्सनलले २५ खेलबाट ४८ अंक जोडेको छ ।

शीर्ष स्थानको सिटीले २८ खेलबाट ६९ अंक जोडेको छ भने समान खेलबाट ६६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुलले गएराति ब्राइटनलाई २–० ले हराएको थियो ।

भ्रमणकारी लिभरपुलले १९औं मिनेटमा लुइस डियाजको गोलबाट अग्रता लिएको थियो । मोहम्मद सालाहले ६१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । जारी सिजन सालाहको यो २०औं गोल हो । लिभरपुलको लिगमा यो लगातार आठौं जित हो ।

गए राति नै अर्को खेलमा ब्रेन्टफोर्डले बर्नलीलाई २–० ले हरायो । ब्रेन्टफोर्ड ३० अंकका साथ १५औं स्थानमा छ । बर्नली २१ अंकका साथ रेलिगेशन क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्