Logo

एमालेले आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय आउँदै छ: बडू



काठमाडौँ, २९ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा मन्त्री बडूले भने, “अब विधिसम्मत र संविधानसम्मत ढंगले र प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुन्छ । र, निर्णय हुन्छ ।”

उनले मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सहभागिता हुने दाबी पनि गरे ।

“मुलुकको स्वतन्त्र न्यायापालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सहभागिता हुन्छ भन्ने लाग्छ,” उनले भने, “सबैले छलफलको प्रक्रियामा भाग लिन्छन् । निर्णय प्रक्रियामा भाग लिन्छन् ।”

मन्त्री बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफूमाथि उठेको आशंकाको समाधान गर्ने बेला आएको पनि बताए । महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न पनि एमालेलाई आग्रह गरे ।

“उहाँहरूले आशंका गर्ने होइन । आफूमाथि उठेको आशंकालाई समाधान गर्ने समय पनि आउँदै छ,” उनले भने । उनको भनाइ संसद्मा जारी अवरोधप्रति लक्षित थियो ।

प्रतिक्रिया दिनुहोस्