Logo
  चैत्र १५, २०८० बिहीबार

झापाको माओवादी राप्रपालाई जित्ने दौडमा



झापा, २ चैत । नेकपा (माओवादी केन्द्र) प्रदेश र जिल्लाको नेतृत्वबीचको आन्तरिक रस्साकस्सी पछि झापाको संयोजकमा राजु आचार्य अग्नीले जिम्मेवारी पाएका छन् । जिल्लाको संयोजक कसलाई बनाउने भन्ने विषयमा लामो समयदेखि विवाद हँदै आएको थियो । तर, प्रदेश समितिको छलफल पछि आचार्य संयोजक भएका हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी झापाको सचिव भइसकेका आचार्यले पुनः नेतृत्व गर्ने अवसर पाएका छन् ।

झापाको नेतृत्व गर्ने अवसर पाएका आचार्यका सामु चुनौतीका चाङ छन् । झापामा माओवादी थिलथिलो अवस्थामा छ । पार्टी भित्रको गुटबन्दी अन्त्य गर्ने, संगठन निर्माण र चलायमान बनाउने, कार्यकर्ताको पलायन रोक्ने जस्ता मुख्य जिम्मेवारी रहेका छन् । झापामा माओवादी पुर्नजाग्रित हुने नहुने अब हुने तीन तहका निर्वाचनले निर्धारण गर्दछ । त्यसमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन पहिलो परीक्षा हुनेछ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापाका ६ वटा निर्वाचन क्षेत्र मध्ये पाँच वटा क्षेत्रमा माओवादी विजयी भएको थियो । पाँच नम्बर क्षेत्रका उम्मेद्वार हर्क खड्का एक हजार भन्दा कम मतले पराजित भएका थिए । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी नराम्ररी खुम्चियो । झापाका ५ वटा निर्वाचन क्षेत्र मध्ये एउटा पनि माओवादीले जितेन । मत संख्याका आधारमा माओवादी चौथो पार्टीको पोजिशनमा पुग्यो । झापामा माओवादीले राप्रपाले भन्दा कम जनमत पाएको थियो ।

त्यसैगरी २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले झापामा जम्मा ६ वटा मात्र वडाध्यक्ष जितेको थियो । गौरिगञ्ज गाउँपालिका बाहेक कहीँ पनि प्रतिस्प्रधामा आएनन् । गौरिगञ्जमा तीनसय भन्दा कम मतले माओवादी अध्यक्षका उम्मेद्वार पराजित भएका थिए ।

झापामा राप्रपाले तीन वटा पालिकामा जित्दा माओवादीको भने हरिबिजोग देखियो । प्रदेश सभा र संघीय संसदको निर्वाचनमा भने नेकपा एमालेसँग भएको तालमेलले इज्जत जोगिएको थियो । क्षेत्र नम्बर १ बाट राम कार्की संघीय सांसद छन् भने क्षेत्र नम्बर ३ बाट पूर्णसिंश राजवंशी र क्षेत्र नम्बर ४ बाट झलकसिंह दर्लामी प्रदेश सभा सदस्य छन् । दर्लामी हाल प्रदेश नम्बर १ को मन्त्री बनेका छन् ।

झापाको माओवादी २०६४ सालको अवस्थामा फर्कने त कुनै सम्भावना छैन । २०६४ को निर्वाचन परिणामा माओवादीका लागि मिठो इतिहास मात्र भएको छ । तर, झापामा राष्ट्रय पार्टीको हैसियत पनि नभएको राजावादी पार्टी राप्रपालाई जित्ने पाए हुन्थ्यो भन्ने लक्ष्य माओवादीले लिएको छ । स्थानीय तहको निर्वाचनमा माओवादी झापाका नेतृत्वको परीक्षा हुँदैछ । यो निर्वाचनमा उतिर्ण भए संघ र प्रदेशको निर्वाचनमा माओवादीले प्रभाव देखाउन सक्तछ । अन्यथा माओवादी झापाका नेता कार्यकताको राप्रपालाई जितेर तेस्रो पार्टी हुन पाए हुन्थ्यो भन्ने मनोविज्ञान झनै ओरालो लाग्न सक्छ ।

माओवादी तेस्रो दल बन्ला ?
झापाको माओवादी केन्द्र अलगअलग निर्वाचन लड्दा झापामा तेस्रो हुने अवस्था छैन । माओवादीको पार्टी संगठन, जनमतका आधारमा राप्रपालाई उछिन्ने अवस्था तत्काल देखिँदैन । तर, काँग्रेससहितको गठबन्धन वा एमालेसँग तालमेल भएको अवस्थामा भने तेस्रो पोजिशन बनाउनसक्ने सम्भावना छ । तर, गठबन्धनका लागि गठबन्धन मात्र भएर हुँदैन । र, राजनीतिक एजेण्डा मात्रले पनि निर्वाचन जितिँदैन । पार्टी संगठन र जनाधार पनि त्यत्तिकै आवश्यक पर्दछ । माओवादीको गतिशील सांगठानिक संरचना नहुनु नै मुख्य समस्या हो । स्थानीय तहमा जनप्रतिनिधि हुन स्थापित र परिपक्क नेतृत्वको अभाव माओवादी भित्रको अर्को समस्या हो । समाजमा स्थापित, लोभलाग्दो र आशालाग्दो नेतृत्वको अभावले तालमेल भएका स्थानमा पनि माओवादी पराजय हुने अवस्था आउन सक्तछ ।

त्यति मात्र होइन, काँग्रेससहितको पाँच दलीय गठबन्धन बन्यो भने एमाले र राप्रपाको पनि गठबन्धन बन्ने सम्भावना छ । त्यसो भयो भने राप्रपाको पोजिशन अहिलेको भन्दा राम्रो हुने सम्भावना हुन्छ । अतः पाँच दलीय गठबन्धन हुँदैमा माओवादी झापामा तेस्रो बन्ने सम्भावना छैन । तेस्रोका लागि राप्रपा र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुन्छ । माओवादीको सांगठानिक सूधार भएन भने पाँच दलीय गठबन्धन भएपनि जनमत आकर्षित नहुन सक्छ । संगठन बलियो बनायो र नेतृत्व एक ठाउँमा उभिएको अवस्थामा मात्र झापामा माआवादीको पक्षमा परिणाम आउन सक्छ । र, राप्रपालाई उछिन्न सक्ने सम्भावना हुन्छ ।

झापामा नेकपा (एकीकृत समाजवादी)ले एमालेलाई खासै क्षति नपुर्याएको र माओवादी पार्टी बलियो नहुँदा माओवादी र समाजवादीको अवस्था सहज छैन । गठबन्धन हुँदा भने काँगेसले परिणाम राम्रो ल्याउन सक्छ । माओावदी र समाजवादीले थोरै थप्दा पनि काँग्रेसले परिणाम ल्याउन सक्छ तर माओवादी र समाजवादीका पक्षमा काँग्रेसले पुरै घोप्ट्याउनु पर्छ । यसले मात्र माओवादी र समाजवादीका पक्षमा निर्वाचन परिणाम आउन सक्छ । अन्यथा गठबन्धन भएर पनि माओवादी र समाजवादीका पक्षमा निर्वाचन परिणाम नआउन सक्छ । त्यसका लागि माओवादी र समाजवादीले निक ठूलो मेहनत गर्नु पर्दछ ।

माओवादीको होमवर्क
माओवादी झापाका इन्चार्ज धर्मशीला चापागाई, संयोजक राजु आचार्य अग्नी लगायतको नेतृत्व सामु सांगठानिक संरचना चलायमान बनाउने, तालमेल गर्ने र उम्मेद्वार छनोट मुख्य चुनौती हुन् । त्यसमा संयोज आचार्य र इन्चार्ज चापागाईको मुख्य भूमिका र जिम्मेवारी हुन्छ । माओवादीलाई तेस्रो वा दोस्रोे कुन पोजिशनमा पुर्याउने भन्ने महत्वपूर्ण जिम्मेवारी नेतृत्व सामु आएको छ । त्यसका लागि माओवादी झापाका मूलभूत समस्या समाधान भए मात्र त्यो पोजिशन कायम हुन सक्तछ । अन्यथा माओवादीको पोजिशन राप्रपाको भन्दा पछि नै हुने सम्भावना छ ।

१. माओवादी झापामा पछिल्लो समय गुटबन्दी तीब्र छ । त्यसलाई चिर्न उम्मेदवार छनोट, पार्टीको स्थानीय नेतृत्व र जिम्मेवारी कसरी बँडफाँड हुन्छ भन्ने कुराले निर्धारण गर्दछ । यसका लागि नेतृत्वले तयार हुनु पर्दछ ।

२. माओवादी पार्टीमा तीब्र गतिमा पार्टी छाड्ने क्रम बढेको छ । यो अलग्गै छलफलको विषय हुन सक्छ । तर यति भन्न सकिन्छ झापा माओवादीको नेतृत्वमा रहेका धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । बिर्तामोडमा कार्यकर्तालेको एक समूहले पार्टी परित्याग गरेका छन् । यसलाई रोक्न नेतृत्वले कस्तो भूमिका खेल्छ, त्यसले पनि धेरै कुरा निर्धाराण गर्दछ ।

३. एमालेमा गएका पूर्वमाओवादीले भट्टाभट जिम्मेवारी पाउने तर माओवादी भित्र जिम्मेवारी पाउन ठूलो संघर्ष गर्नु पर्ने अवस्थाले झापाको माओवादीबाट अझै धेरै कार्यकर्ता पलायन हुन सक्छन् । माओवादी कार्यकर्ता भित्रियाउने अभियानमा एमाले सक्रिय छ भने माओवादीले त्यसलाई राक्ने पहलकदमी पनि नगर्ने अवस्था छ । माओवादी पोजिशनका लागि कार्यकर्ताको पलायनलाई कसरी रोक्न सक्छ त्यसले पनि निर्धारण गर्दछ ।

४. माओवादीमा २०५२ साल फागुन १ गते पछि जन्मिएकाले नेतृत्व पाउने तर त्यस अघि एमाले, मालेमा संगठित भएका नेता कार्यकर्ताले जिम्मेवारी नपाउने अवस्था छ । जनयुद्धको अवधिमा २४ घण्टा भएपनि भूमिगत भएकाले मात्र जिम्मेवारी पाउने तर जनयुद्धमा ठूलो सहयोग गरि शान्तिप्रक्रिया पछि कमिटीमा बसेका नेता कार्यकर्ता दोस्रो दर्जाको कार्यकर्ता ठान्ने मनोविज्ञान बलियो गरी स्थापित छ । जतिनै क्षमता भएपनि एमाले र मालेबाट आएका नेता कार्यकर्तालाई नेतृत्व नदिने, अवसरबाट बन्चित गर्ने अवस्थाको अन्त्य गर्न सक्छन् सक्तैनन् ? माओवादी झापा, इन्चार्ज, संयोजकलगायतका नेताहरुको राजनीतिक भविष्य पनि त्यसैमा निहित छ ।

प्रतिक्रिया दिनुहोस्