Logo

सिंगो गाउँ नै पहिरोको जोखिममा



बेनी, १४ चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका-१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् ।

वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ ।

धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिए । “रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन”, उनले भने ।

उनका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकेका छन् । यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ । बान्द्रेखाल्टीसँग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरु समेत अन्यत्रै विस्थापित भएर सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्