Logo

नेपालले पपुवा न्युगिनीलाई हरायाे



काठमाडौँ, १४ चैत । त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको छ ।

नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन-तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० शृङ्खला आजदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्