Logo

निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण



बिर्तामोड, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका ७० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन महासंघ शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र मोहनकाजी न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय प्रेस मञ्चका अध्यक्ष दिलकुमार लावतीले आ-आफना मन्तव्य राखेका थिए ।

उक्त तालिमको सहजीकरण महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले गरेका थिए ।

तालिममा गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिए । उनले पत्रकार आचासंहिता र निर्वाचन आयोगले जारी गरेको आचार संहितालाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताए ।

खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहेका प्रशिक्षक गाउँले आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नहुने भन्दै उजुरी पर्ने हो भने आचारसंहिता उल्लङ्घन गर्नेहरु सबै दण्डित हुने बताए । निर्वाचनका बेला आचारसंहिता पालनामा अझ विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा सहभागीका तर्फबाट पर्वत पोर्तेल र शान्ति सुब्बाले आ-आफ्ना सिकाई अनुभव राखेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले मन्तव्यबाट स्वागत गरेका थिए भने सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामा र सह-सचिव अर्जुन राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्