Logo

म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी



सांकेतिक तस्बिर

जुम्ला, १६ चैत । जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् ।

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।

स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी बिरामी भएका जानकारी दिए । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उनको भनाइ छ ।

विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आजदेखि आउँदो आइतवारसम्म बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताए । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उनले जानकारी दिए । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्